
६ मंसिर ।
। सोमबार बोलाइएको नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजे सम्मका लागि स्थगित भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको जानकारी दिए । यसअघि आज दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि बैठकको एजेण्डा रहेको उनले जानकारी दिए । निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ । यसैबीच मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १० औँ महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मी समक्ष आफ्नो धारणासहित देशभरिका कार्यकर्ताको मनोभावनाको उच्च सम्मान गरेर आफूले सचिव पदमा उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । पार्टी र देशका लागि आफूले निर्वाह गरेको भूमिका र पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रूपमा युवाहरुलाई परिचालन गर्नका लागि पनि सचिव पदमा आफूले उम्मेदवारी दिने निर्णय गरेको केन्द्रीय सदस्य बस्नेतको भनाइ छ ।

