लुदअ मंसिर १४, बझाङ
घरघरमा खानेपानी पुगे पछि बझाङको छबिसपाथिभेरा गाउँपालिका(७ खोरी गाउँका स्थानीय बासिन्दा दङ्ग परेका छन् ।
खानेपानीको अभावमा गाउँ नजिकै बग्ने खोलाको फोहोर पानी पिउन बाध्य भएका उनीहरु अहिले घर घरमा खानेपानीको धारा पुगेसँगै दङ्ग परेका हुन् ।
घरघरमा खानेपानीका धारा निर्माण भएपछि सरसफाइमा समेत परिवर्तन आएको छ । खोरीका महिला एक जुट भएर ८४ लाख रुपैयाँ बराबरको खानेपानी निर्माणको काम गरेका हुन् ।
छडोखोला खोरी खानेपानी सरसफाइ योजना उपभोक्ता समितिका सहसचिव बसन्ती बुढा महिला जागरुक भए जस्तासुकै काम सहजै सम्पन्न गर्न सक्ने बताउनुहुन्छ । आफूसहित र अन्य महिलाको सक्रियतामा योजना सम्पन्न गरेसँगै समाजमा महिला भनेर हेर्ने दृष्टिकोणमै केही परिवर्तन आएको अनुभव उहाँले सुनाउनु भयो । साथै उहाँले यसरी हुने योजनामा महिला सहभागिता भए हिंसा र दुर्व्यवहारका घटनामा कमी आउनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँमा कुनै योजना आउँदा उपभोक्ता समितिमा पुरुषहरु रहने तर महिलाहरु भने छड्के साक्षीमात्रै बन्ने प्रचलन रहेको उहाँको गुनासो छ । यस योजनाको उपभोक्ता समितिमा भने महिलाहरु बसेको र केही पुरुषहरुलाई मात्रै समितिमा समावेश गराइएको समितिका अध्यक्ष सुनिता बुढाले बताउनुभयो । सुरुवातमा आफ्ना योजनालाई हाँसोको रुपमा लिए पनि योजना सम्पन्न गर्दैगर्दा अन्य पुरुषहरुको पनि साथ पाएको उहाँको भनाइ छ ।
अहिले गाउँमा एक घर एक धारा निर्माण भएको छ । दिसाब पिसाब मिसिएको फोहोर पानी खानुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीय सफा पानी पिउन पाउँदा मख्ख छन् ।
स्थानीय काली देवि बोहोरा भन्नुहुन्छ ुहाम्रै पालामा घरमै धारो आउला भन्ने कल्पनासम्म गरेका थिएनौँ । अहिले घरमै धारा आयो । सफा पानी पिउन पायौँ । पहिले फोहोर पानी खानुपर्दा थुप्रै स्थानीय बिरामी परेका थियौँ। अब फोहोर पानीकै कारण बिरामी हुने समस्याबाट छुटकारा मिलेको छ।
छबिसपाथीभेरा गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा गाउँमा खानेपानी योजना सम्पन्न भएको हो । खानेपानीको सुविधा भएपछि गाउँमा नाचगान गरेर खुसीयाली मनाइएको छ ।
महिलाहरुकै सहभागितामा ठूलो योजना सम्पन्न गरेको भन्दै गाउँपालिकाले उनीहरुलाई एक लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेको छबिसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बताउनुभयो।
छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर सातलाई पूर्ण सरसफाइ टोल समेत घोषणा गरिएको अध्यक्ष धामीले बताउनु भयो । गाउँपालिकालाई पूर्ण सरसफाइ पालिका घोषणा गर्ने निति तथा कार्यक्रम अन्तरगत वडा नम्बर १ देखि ६ सम्म घोषणा भइसकेको छ । यस अभियानमा पालिकाका सबै कर्मचारी, जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेवकदेखि विद्यार्थी समेतको सहभागिता रहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय योजना तथा पूर्वाधार निर्माण, सरसफाइ, जनचेतना अभिवृद्धि लगायतका काममा बझाङका महिलाहरुको सक्रियता बढ्दै गएको छ । जसले गर्दा खानेपानी लगायत अन्य पूर्वाधार निर्माणमा महिलाहरुको सहभागिता उत्साहजनक देखिन्छ । जसका कारण महिलाहरुको दैनिकी सहज हुन पुगेको छ ।
उज्यालोबाट साभार



















