लुदअ कपिलवस्तु, मंसिर १८
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले देशमा समृद्धी र शुसासनको योजना जसपा नेपालले मात्रै पुरा गर्ने बताएका छन् । जसपाले उठाएका एजेण्डाहरु पछिल्लो पटक अन्य दल र नेताहरुले पनि बोल्न लागेको भए पनि यसको सही योजना जसपा सँग मात्रै रहेको उनले बताए ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित जसपा वडा समितिले शनिबार आयोजना गरेको पार्टीको संगठन सुदृढीकरण तथा जनजागर अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले कपिलवस्तुमा पूर्वाधार विकासका कामलाई तिव्र गतिमा अगाडी बढाइने पनि बताए । प्रदेश सरकारका तर्फबाट कपिलवस्तुमा चालु आर्थिक वर्षमा अधिक्तम योजनाहरु संचालनका लागि बजेट विनियोजन भएकाले जिल्लाको विकासका लागि यस पटक धेरै काम गरिने पनि उनले दावी गरे ।
यस्तै कार्यक्रममा जसपा नेपालका लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरीले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमूख र समानुपातिक निर्वाचन प्रणालीको स्थापना गरी देशको विकासलाई अगाडी बढाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
कार्यक्रममा जसपा केन्द्रिय सल्लाहाकार समितिका संयोजक विष्णुहरि शर्मा सहित केन्द्रिय अनुशासन आयोग प्रमूख नरसिँह चौधरी, केन्द्रिय सदस्यहरु नारायण खनाल, बोम दर्लामी, केशवराज पौडेल, लुम्बिनी प्रदेश सरकार श्रम रोजगार तथा यातायाद व्यवस्था मन्त्री पुर्मती ढेँगा मगर लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष डा. अब्दुल रसिँद खाँ, जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादव लगाएतको आतिथ्यता रहेको थियो ।
यसैबिच जसपा वडा समिति भलवाडमा राधा खनालको अध्यक्षतामा २१ सदस्यीय वडा समिति पनि गठन भएको छ । जसको उपाध्यक्षमा दिपा खनाल, सचिवमा विष्णु भुषाल, कोषाध्यक्षमा शालिकारम भुषाल, सह सचिवमा सावित्रा परियार लगाएत चयन भएका छन् । यस्तै वडा समिति सल्लाहाकार समिति अध्यक्षमा गोबिन्द बञ्जाडे चयन भएका छन् ।
मन्त्री यादव र इन्चार्ज चौधरीले गरे जनतासँग प्रतिबद्धता
जसपा नेपालका लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी र मन्त्री सहसराम यादवले भलवाड स्थित भर्लाबासमा जन भेटघाट गर्दै विकासका काममा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । पूर्व मन्त्री समेत रहेका जसपा प्रदेश इन्चार्ज चौधरीले भर्लाबासमा निर्माणाधिन एक मन्दिरका लागि आफुले तत्काल सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन भने मन्त्री यादवले सडक, कृषि र सिँचाईका योजनाहरु जनताबाट माग भई आएकाले आफुले त्यसको कार्यान्वयनका लागि पूर्ण सकारात्मक रहेको बताएका छन् । कार्यक्रममा राधा खनालको अध्यक्षता सहित विष्णु भुषालको स्वागत मन्तव्य रहेको थियो ।




















