
लुदअ, बुटवल
यातायात व्यवस्था कार्यालय लाइसेन्स लुम्बिनीमा लाइसेन्स वितरणमा हुने गरेको आर्थिक चलखेल रोक्न खोज्दा सम्बन्धित मन्त्रालयका सचिव नै सरूवामा परेका छन् । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को भदौ १३ गतेको निर्णय अनुसार स्थापना भएको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको सचिवको रूपमा कुमार प्रसाद दाहाललाई पठाइएको थियो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दरबन्दी भएका दाहाल नयाँ गठन गरिएको मन्त्रालयमा सचिवको व्यवस्थापन नहुँदा उक्त मन्त्रालयमा काजमा खटिएका थिए । दाहाल मन्त्रालयको जिम्मेवारीमा आउनुअघि मुख्यमन्त्री कार्यालयमा कार्यरत रहँदा नै लाइसेन्स वितरणमा हुने गरेको अनियमितताबारे पहिलेदेखि नै जानकार थिए ।
त्यसैले पनि सम्बन्धित मन्त्रालयमा सरूवा भएर गएपछि उनको पहिलो योजना थियो, लाइसेन्स वितरणमा भइरहेको विकृति र अनियमिततालाई रोक लगाउने । तर दाहालले लाइसेन्स वितरणमा हुने अनियमिततालाई रोक लगाउनु त कता हो कता काजमा खटाइएको तीन महिनामै मुख्यमन्त्री कार्यालयमा फिर्ता पठाईएको छन् ।

