
बुटवल, मंसिर २५ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटी अन्तर्गत स्वच्छ पश्चिमाञ्चल ट्यांकर चालक परिवारको दोस्रो अधिवेशन सम्पन्न
भएको छ ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले यातायात क्षेत्रमा काम गर्ने मजदुरहरु संगठित भएर अगाडी बढ्नुपर्ने बताएका छन् । ‘यातायात मजदुरहरुको उचित पारिश्रमीक, नियुक्तिपत्र, बिमाको ग्यारेन्टी गर्नुपर्छ, मजदुरहरुले आफ्नो इतिहासलाई सम्झेर एकजुट भई अगाडी बढ्न सकेमात्रै हरेक समस्या समाधान गर्न सकिन्छ ।’ उनले भने अझैपनि चालक सहचालकहरुलाई नेपाली समाजले हेर्ने दृष्टीकोणमा परिवर्तन हुन नसक्नु दुःखद भएको बताए । यातायात मजदुरहरुलाई विभिन्न तरिकाबाट दुःख दिने काम भईरहेको भन्दै आगामी दिनमा सरकार वा यातायात व्यवसायी कसैको तर्फबाट षड्यन्त गरी फसाउने र दुख दिने काम गरेमा आफुहरु आन्दोलनमा उत्रने समेत चेतावनी दिए ।
यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुको लागि काम गर्ने संगठन निर्माण भएको लामो समय भएपनि अझैपनि धेरै चालक सहचालकहरु संगठन भन्दा बाहीर रहेको बताउँदै सबै यातायात मजदुरहरुलाई संगठनमा आवद्ध हुन आग्रह गरे । सामाजिक सुरक्षा ऐनले मजदुरहरुको पेशागत सुरक्षाको ग्यारेन्टी गर्ने बताए । त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष ध्यान बहादुर राईले यातायात मजदुरहरुले गर्ने कामको सम्मान हुनुपर्ने बताएका छन् । श्रमीकको उचित पारिश्रमीक र सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा अध्यक्ष नवराज पाण्डेको अध्यक्षता, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईको प्रमुख आतिथ्यता, केन्द्रीय उपाध्यक्ष ध्यान बहादुर राईको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्य कर्ण सिंह गुरुङ, ठाकुर प्रसाद गैरे, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद कंडेल, पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका अध्यक्ष राकेश कुमार कशौधन, सरस्वती रिजाल लगायतको आतिथ्यता रहेको थियो ।
त्यस अवसरमा मजदुरहरुको हितमा काम गर्ने बिभिन्न ब्यक्तिहरु र मदजुरहरुलाई सम्मान गरिएको थियो । नेपालमा ११ लाख भन्दा धेरै यातायात मजदुर रहेपनि १ लाख ७० हजार मजदुर मात्र संगठनमा आवद्ध रहेका छन् । उपाध्यक्ष दधिराम डुम्रेको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन होम बहादुर पाण्डेले गरेका
थिए ।

