
हरि आचार्य, कपिलवस्तु
लगातार ४ बर्ष सम्म नगरपालिकामै बिकास निर्माणका योजना सञ्चालन गर्न उत्कृष्ट कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ ले अर्को उदाहरणिय कार्य गरेको छ । चिसो बढेसंगै ज्येष्ठ नागरिकहरुको आवश्यकतालाई मध्यनजर गर्दै वडाका ३ सय १ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । आर्थिक बर्ष २०७८/७९ को स्वीकृत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडाका ७० बर्ष माथिका ३ सय १ जना ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा ज्याकेट (हुड) प्रदान गरिएको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले ज्येष्ठ नागरिक अनुभवका सम्पत्ति रहेको बताउनुभएको छ । सांसद पन्थीले ज्येष्ठ नागरिकसंग भएको ज्ञान सिप देशको सम्पत्ति र गहना भएको बताउनुभएको हो । उहाँले ज्येष्ठ नागरिकलाई एमाले नेतृत्वको सरकारले पालनपोषण देखी स्याहारसुसारका लागि बिभिन्न कार्यक्रमहरु ल्याएको जानकारी गराउनुभयो । उहाँले मुलकमा रहेका सबै बर्गको हितका लागि उनीहरुलाई आवश्यक पर्ने खालका कार्यक्रम मात्र एमालेको सरकारले ल्याएको स्पष्ट पार्नुभयो ।
फरक प्रंसगमा बोल्दै सांसद पन्थीले बर्तमान प्रदेश सरकारले मन्त्री पाल्ने काम मात्र गरेको बताउनुभयो । भागवण्डाका लागि मन्त्रालय र मन्त्री थपिरहेको र बिकासका लागि छुट्याएको बजेट मन्त्रीको तलबमा मात्र धेरै खर्च भईरहेको उहाको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले ज्येष्ठ नागरिक सम्मानका लागि बाणगंगा नगरपालिकाको वडा नं. ७ ले सुरुवात देखिनै बिभिन्न रचनात्मक कामहरु शुरुका बर्षदेखी गर्दै आएको बताउनुभयो । बाणगंगमा बिकास निर्माणको गतिले तिब्रता लिईरहेको बताउँदै सबै क्षेत्रको बिकासमा फड्को मारेको जानकारी गराउनुभयो ।
यसैगरि कार्यक्रमका अध्यक्ष वडा नं ७ का वडा अध्यक्ष बिष्णु गिरीले आफूहरु निर्वाचित भएर वडामा आएदेखी लक्षित बर्ग र बिकास निर्माणमा भएका प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले भौतिक विकास निर्माणले वडा समृद्ध नहुने भन्दै लक्षित वर्गका कार्यक्रम योजना समाज रुपान्तरण तर्फ वडाले निरन्तर ध्यान दिईरहेको बताउनुभयो ।

वडा भित्रका ३ सय १ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न पाउँदा आफुलाई गर्व महशुस भएको बताउनुभयो । उहाँले विभिन्न जातजाती, भाषा, धर्म, संस्कृति, अपांगता भएका व्यक्ति, महिला, बृद्धबृद्धा लगायत सबै वर्गलाई समावेश गरि वडाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । वडाध्यक्ष गिरीले कुनै पनि पुर्वाग्राही नराखी जनताको सेवकको रुपमा लागेको बताउनुभयो ।
यता चिसो बढ्दै गईरहेको बेला वडाले समयमै न्यानो कपडा दिँदा ज्येष्ठ नागरिक निकै खुसी देखिन्थ्ये । हरेक बर्ष जस्तै यसपालि पनि जुटाएर आफुहरुलाई वडाले सम्मान गरेमा खुसी ब्यक्त गरेका छन ।

वडाध्यक्ष गिरीको अध्यक्षता, कार्यपालिका सदस्य शाबित्री थारुको स्वागत मन्तब्य, तत्कालिन मोतिपुर गाबिका अध्यक्ष समाजसेवी नेत्र गिरी, वडा सदस्य मुम बहादुर पाण्डे, कमला बिक, टोल बिकास संस्थाका पदाधिकारी, पत्रकार लगाएतको आतिथ्यता रहेको कार्यक्रम वडा सचिव कृष्ण प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रकाशित : २०७८ पुष ७, बुधबार २०:४९