
लुदअ पुस १९, काठमाण्डौ
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएका नियम तथा निर्देशन अटेरी गर्ने एअरलाइन्सको उडान रोक्ने चेतावनी दिएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विदेशबाट आउने र विदेश जाने यात्रुका लागि फाराम भर्नै पर्ने व्यवस्था गरे पनि केही एअरलाइन्सले अटेरी गरेको भन्दै प्राधिकरणले चेतावनी दिँदै सूचना जारी गरेको हो । नेपाल आउने र जाने यात्रुले भर्ने फारम सीसीएमसीको वेबसाइटमा रहेको पनि प्राधिकरणले जनाएको छ ।
यस्तै बेलायतसहित विभिन्न देशमा कोरोना भाइरसको नयाँ प्रकार फैलिरहेको सन्दर्भमा बेलायतबाट आउने र बेलायतलाई ट्रान्जिट बनाएर आउने यात्रु नबोक्न यसअघि नै निर्देशन दिइएको र निर्देशन अटेरी गर्नेलाई नेपाल उडानको प्रतिबन्ध लगाउन बाध्य हुने पनि प्राधिकरणले जनाएको छ ।
नेपालमा उडान गर्ने ३१ वटै एअरलाइन्सलाई बोधार्थ उल्लेख गरेर प्राधिकरणले सूचना जारी गरेको छ । निर्देशन पालना भएकोरनभएकोबारे कडा निगरानी राख्न पनि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई निर्देशन दिएको छ ।