लुदअ पुस २८, मनाङ
हिमाली जिल्ला मनाङको चामे गाउँपालिका २ थानचोकको वनबाट मङ्सिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । अहिले यो आगलागी नासो गाउँपालिका ८ ताचैसम्म पुगेको छ ।
आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति असर पर्यो भन्ने लेखाजोखा छैन । आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेसीसहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दुरीमा पर्दछ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप को संरक्षणमा रहेको छ ।