चित्लाङ सम्पदा सूचीको मन्दिरबाट पाँच मूर्ति चोरी

[sharethis-inline-buttons]

लुदअ माघ ६, मकवानपुर
मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा रहेको तीन गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् ।

गएको पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा भएको हो । ुसदा झैँ हामी बिहान पूजा गर्न जाँदा मूर्ति चोरी भइसकेको रहेछ, हामी शिव लिङ्गको दर्शन गरेर फर्कियौँु मन्दिर नजिकै घर भएका विक्रम लामाले भन्नुभयो ।

चोरी भएका मूर्तिमा दुर्गा, भैरव, कुमार र नारायणको छन् । नजिकै सरावत पौवामा रहेको ढुङ्गेधाराबाट हराएको मूर्ति भने गणेशको रहेको लामाले जानकारी दिनुभयो । तीन गजुर भएको शिवालय मन्दिर विश्वमै दुर्लभ मानिन्छ । पहिले सुनकै गजुर रहेको भए पनि चोरी भएपछि पुरातत्व विभागले पुनःनिर्माण गरेको थियो । यो मन्दिर पुरातत्त्व विभागको सम्पदा सूचीमा रहेको छ । स्थानीयवासीले किराँतकालमै तीन गजुर भएको शिवालय निर्माण गरेको बताउँछन्

गणेशको मूर्ति चोरी भएको सरावत पौवाको ढुङ्गेधारा पनि ऐतिहासिक महत्त्वको छ । मध्यकालमा काठमाण्डौमा रहेको पशुपति दर्शन गर्न जाने भक्तजनलाई शिवरात्रीमा सर्वत खुवाउने ठाउँ भएकाले ढुङ्गेधारा रहेको पौवाको नाम सरावत पौवा हुन गएको स्थानीय बुद्धिजिवी शान्तलाल नेवाः ले जानकारी दिनुभयो ।


प्रकाशित : २०७७ माघ ६, मंगलवार ०१:१७