
लुदअ दाङ, माघ १२
६ महिनाअघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार दाङ आउनुहुने भएको छ ।चार वर्षअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेको राप्ती नदीको पुल उद्घाटन गर्न भोलि प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउन लाग्नुभएको हो ।
दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा २०७३ मंसिर २२ गते शिलान्यास गर्नु भएको थियो ।
त्यतिबेला प्रचण्ड पुल उद्घाटनका लागि आउँदा तत्कालिन नेकपा एमालेले दाङ बन्दको आव्हान गरेको थियो। प्रचण्ड दाङ आउँदा खबर संकलनका लागि पुगेका पत्रकारमाथि तत्कालिन नेकपा एकालेका कार्यकर्ताले लमहीमा दुर्व्यवहारसमेत गरेका थिए। तत्कालिन समयमा नेकपा एमाले दाङका इञ्चार्ज मेटमणि चौधरी हुनुन्थ्यो । यद्यपी नेता चौधरीले प्रधानमन्त्री ओलीले पुल उद्घाटन गर्न आउनुलाई सामान्य रूपमा लिएको प्रतिक्रिया दिनुभएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु पूर्वसम्म एउटै पार्टीका अध्यक्ष रहेका ओली र प्रचण्ड यतिबेला दूई चिरामा छन्। यस्तो बेला प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न महत्व दिएर ओली दाङ आउनुलाई निकै चासोका साथ हेरिएको छ।