
राम कुमारी पक्राउपछी व्यापक विरोधका आवाजहरु अठेका छन् ।
प्रहरी हिरासतमा रहेकी नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।
प्रहरीले उनलाई राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ गरेलगत्तै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
अधिवक्ता गुणराज आचार्यले अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत प्रहरीले पक्राउ गरेको हुनाले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्दै रिट हालेका हुन् ।
यसैबीच रिटको सुनुवाइ गर्न सर्वोच्चले आइतबारलाई पेसी तोकेको छ ।
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई आज पक्राउ गरेको थियो । उनीमाथि राज्यविरुद्धको कसुर गरेको आरोपसहित पक्राउ गरिएको हो ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।
झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-माधव समूहका धेरै कार्यकर्ता भेला भएका थिए । पक्राउ पर्नुअघि उनले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको बताएकी थिइन् ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । यता देशका विभिन्न ठाँउमा जस्तै पक्राउको विरोधमा कपिलवस्तुमा समेत विरोधसभा हुने जनाईएको छ । प्रचण्ड नेपाल समुहका विधार्थीहरुले आज साझ ६ बजे ४ नं चोकमा विरोधसभा गर्ने विघार्थी संगठनका जिल्ला संयोजक दिपक अनुरागीले जनाए ।