
लुदअ कपिलवस्तु, फागुन ४
लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ देउखुरीमा प्रदेशको तेस्रो स्थापना दिवस मनाएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा भएको मूल समारोहको कार्यक्रम देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा भएको हो । सो कार्यक्रममा प्रदेश सरकारले यसअघि घोषणा गरेका ५८ वटा पदक वितरण गरिएको छ ।
देउखुरीमा मुख्यमन्त्रीकै प्रस्तावमा फागुन २ देखि ४ गतेसम्म प्रदेश स्थापना दिवस मनाईएको हो । स्थापना दिवस मनाउनका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा स्थापना दिवस व्यवस्थापन समिति गठन गरिएको थियो । मन्त्री केसीको अध्यक्षतामा बसेको बैठकले तीन दिन देउखुरीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा प्रदेशका १२ वटै जिल्लाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न जात,जाती भाषा धर्म संस्कृति झल्किने खालका झांकी प्रदर्शन गरिएको थियो । त्यस्तै विभिन्न पुस्तक पनि विमोचन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले ७ ओटै प्रदेश मध्ये लुम्बिनी प्रदेश सबै पक्षले अगाडि रहेको दावि गरे । प्रदेश सरकारको ३ बर्षको उपलब्धिको बारेमा स्पष्ट पार्दै राजधानीलाई नेपालकै नमुना बनाउनका लागि योजना बनाईरहेको बताए । कानुन निर्माण, भौतिक विकास निर्माण, खानेपानी, उद्योग तथा पर्यटन क्षेत्रमा प्रदेश सरकारले विभिन्न उदाहरणिय कार्य गरेको बताए । मिनी नेपालको रुपमा रहेको लुम्बिनी प्रदेशलाई डिजिटल प्रदेश बनाउन प्रदेश सरकार लागि परेको बताए ।