
१० फागुन, काठमाडौं ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको आज परीक्षण हुने भएको छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्नेछ । सुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार भने पानी छाडिने छैन ।
गत २९ असारमै सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका(१ स्थित अम्बाथानको अडिटको मुख्य गेट नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक एडीबीको अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । यसैबिच विगतको जस्तो दुर्घटना नहोस् भनेर आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीको भनाइ छ ।
परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेलदेखि काठमाडौंस्थित विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ ।
परीक्षणका लागि पहिले जसरी नै प्राविधिक मापदण्डअनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिनेछ । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर पुनः परीक्षण गरिनेछ ।