
लुदअ फागुन २५, काठमाण्डौ
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले संसद्, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गर्ने भएको छ ।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले वर्तमान राजनीतिक परिस्थितिका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपासँग प्राथमिकताका साथ छलफल र वार्ता गर्ने निर्णय गरेको हो ।
त्यसपछि आवश्यकताका आधारमा नेकपा एमालेसँग पनि वार्ताको प्रक्रिया अघि बढाउन सकिने निर्णय बैठकले गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी बैठकले सङ्गठनात्मक कामका सम्बन्धमा अहिलेको परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।
उहाँले भन्नुभयो, ‘नेकपा एमालेसँग पनि वार्ता हुनेछ । तर मुख्य जोड कांग्रेस र जनता समाजवादी पार्टीसँग हुनेछ । हामीले राजनीतिक पार्टीको हैसियतले दलहरूसँग वार्ता गर्ने कुरालाई खुला राख्छौँ । सङ्गठनात्मक कामका सम्बन्धमा अहिलेको परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न हामीले यही फागुन २९ गते काठमाण्डौमा केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय गरेका छौँ ।’
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले यसअघि निर्वाचन आयोगमा बुझाएका केन्द्रीय सदस्यहरूको बैठक बस्ने पनि नेता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पार्टीसँग छलफल गरेपछि राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गरेर मात्रै सरकारलाई दिएको समर्थनका बारेमा पार्टीले निर्णय गर्नेछ । बैठकले सरकार गठन र सरकारमा रहेका सांसदहरूको सवालमा भने ठोस निर्णय गरेको छैन । सरकारमा रहेका सांसदहरूले पहिला आफ्नो दृष्टिकोण र भूमिकाका बारेमा स्पष्ट पारेपछि मात्रै बैठकले निर्णय गर्ने नेता श्रेष्ठले जानकारी दिनुभयो ।