राजस्व चुहावट रोक्न सरकार कडा रुपमा लाग्ने: अर्थमन्त्री पौडेल

[sharethis-inline-buttons]

काठमाडौं ,२०७७ १२ चैत,
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट रोक्न सरकार कडा रुपमा लाग्ने बताएका छन् । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बिहीबारको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले चुहावट नियन्त्रण गर्न सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति सरकार कठोर बन्ने बताएका हुन् ।

‘राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं । शक्तिका साथ प्रस्तुत हुन्छौं,’ अर्थमन्त्रीले भने, ‘व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौं ।’ अर्थमन्त्री पौडेलले निर्दोष नफस्ने र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिएका छन् । उनले राजस्व परिचालनमा नकारात्मक असर नपर्ने गरी काम गर्न समेत सरोकारवाला विभाग र सुरक्षा निकायलाई आग्रह गरे ।

उक्त अवसरमा अर्थसचिव शिशिरकुमार ढुंगानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच सूचना आदान प्रदान गर्न आवश्यक भएको धारणा व्यक्त गरे । राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको बताए । उनले आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सजग रहेको बताए । गृहसचिव महेश्वर न्यौपानेले दोषीलाई कानुन अनुसार कारबाही गर्ने उल्लेख गरे ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले राजस्व चुहावट नियन्त्रण गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले निमयित अनुगमनबाटै अनियमित गतिविधि रोक्न सकिने बताए ।अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले राजस्व चुहावट नियन्त्रण गर्न विभिन्न निकायबाट प्रयास भइरहेको भन्दै चुहावटमा संलग्नहरुलाई कारवाही भइरहेको जानकारी दिए ।भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरुलाई प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे ।


प्रकाशित : २०७७ चैत्र १२, बिहीबार १२:०८