प्रदूषणले ढाक्यो उपत्यका

[sharethis-inline-buttons]

काठमाडौं २०७७ चैत्र १३
खराब मौसमसँगै प्रदुषणले राजधानी उपत्यका ढाकिएको छ। बिहानैदेखि धुम्म काठमाडौं दिउँसो तुवालोले भरिएको छ। खराब मौसमी अवस्थाका कारणले प्रदूषित हावा उपत्यकाभित्रै जाम भएको छ। यो रिलिज नहुँदासम्म काठमाडौंको आकाश सफा हुने छैन।केही दिन अघिदेखि नै उपत्यकाको आकाश धुम्म भएको थियो। शुक्रबार तुवालोले उपत्यका पूरै ढाकिएको छ। राजधानीबासीको स्वास्थ्यमा यसले नकारात्मक असर पार्ने खतरा देखिन्छ। राजधानीबासीले हावामा धुँवाको गन्ध मात्रै होइन्, आँखा, घाँटी पोल्ने समस्या पनि बढेको अनुभव गरेका छन्। अनौठो खालको उकुसमुकुसको अनुभव भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी वायुको प्रभाव र वायुमण्डलमा जम्मा भएका धुलोका कणका कारण उपत्यका तुवालोले ढाकिएको हो। पश्चिमी वायुको प्रभाव देखिएको छ’, मौसमविद् प्रधानाङ्गले भने, ‘भिजिबिलिटी पनि कम भएको छ। यो अवस्था वर्षा नहुँदासम्म कायम रहने देखिन्छ।’ उनका अनुसार उपत्यकासँगै पहाडी र केही पहाडी भूभागको समेत मौसम बदली भएको छ।

बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकाले घरबाहिर निस्कदा विशेष सावधानी अपनाइ सचेत रहन विभागले आग्रह गरेको छ। त्यस्तै तराई क्षेत्रका शहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। फोहोर र आगो बाल्दा वायु प्रदूषण बढ्ने भएकोले यस्तो कार्य नगर्न सचेत गराएको छ।


प्रकाशित : २०७७ चैत्र १३, शुक्रबार ०९:५३