काठमाडौं, चैत १३
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको सांगठनक संरचनामा फर्किन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता खनालले विभाजनमा जाँदा कसैको पनि हित नहुने बताएको एक सांसदले बताए।
उनले सर्वोच्च अदालतले एमालेलाई पुरानै अवस्थामा फर्काएका कारण यो बीचमा भएका सबै निर्णय खारेज गरेर अगाडि बढ्नुपर्ने बताएको ती सांसदले बताए।
‘सर्वोच्च अदालतले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कादिएको हो, पार्टी एकतालाई जोगाउने हो भने त्यही फर्किनुको विकल्प छैन’, खनालको भनाई उद्धृत गर्दै ती सांसदले भने, ‘यो बीचमा भएको सबै निर्णयहरु खारेज गर्नुपर्छ।’
नेता खनालले स्थायी, पोलिटब्युरो, केन्द्रीयदेखि जिल्ला तहसम्म सबै कमिटीका बैठक आयोजना गर्न आग्रह समेत गरेका थिए।
स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटीदेखि सवै कमिटिहरुको बैठक आयोजना गरेर संस्थागत निर्णय गरेर अगाडि बढ्नुपर्छ’, खनालले भनाई उद्धृत गर्दै ती सांसदले भने।खनालले आफ्नो भनाइ राख्दा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नदिएको ती सांसदले बताए।
वरिष्ठ नेता खनाल बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका हुन्। बैठक अहिले पनि जारी छ। नेपाल–खनाल समूहका अन्य सांसदहरु भने बैठकमै रहेको ती सांसदले बताए।


















