
काठमाडौं २०७७ चैत्र १४
शुक्रबारदेखि एक्कासी काठमाडौं उपत्यकामा लागेको तुवालो आइतवारसम्म रहने भएको छ । अहिले पनि उपत्यका आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गइ पारदर्शिता घटेको हो।
आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन। उनका अनुसार सोमबारदेखि केही बादल विकसित भइ हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको छ।
विभागका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन(चट्याङसहित फाट्टफुट्ट तथा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।