
रिक्सा चालकलाई रिक्सा धितो राखी कर्जा दिने भयो मेगा बैंकले
काठमाडौं, चैत १७
मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका रिक्सा धितोमा राखी कर्जा लिने विशेष सुविधा ल्याएको छ ।
मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो।
सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरेका छन ।
मेगा बैंककी सीईओ खुञ्जेलीले अटो रिक्सा खरिद गरी आर्थिक उपार्जन गर्न चाहने न्यून आय भएका धेरै भन्दा धेरै व्यक्तिहरुलाई देशभरका शाखा कार्यालयबाट छिटोछरितो ढंगले सर्वसुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने बताइन्।
नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा निर्देशिका तथा बैंकको सरल कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही अटो रिक्सा खरिद गरी सञ्चालन गर्न चाहने चालकहरुलाई मेगा बैंकले यो कर्जा प्रदान गर्नेछ।