
काठमाडौँ चैत्र २५
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको देशभरि रहेका पदाधिकारीको सदाचारितामा प्रश्न उठाएको छ ।संघीय संसद् प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बालसंगठनको नक्सालको बालमन्दिर र सिफलमा रहेको संरक्षणगृहको स्थलगत भ्रमणपछि संगठनका पदाधिकारीको सदाचारितामा खोट देखाएको हो ।
समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल संगठनको केन्द्रदेखि जिल्लास्तरसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिँदा अपारदर्शी सम्झौता गरेको, संगठन आफैँसँग चलअचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको छ ।
बुधबार महिला समितिको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै समिति सभापति पालले प्रतिवेदनलाई केन्द्रीय बालकल्याण समिति र महिला बालबालिका मन्त्रालय पठाउने बताइन् ।
समितिले पास गरेको प्रतिवेदनमा मुख्य गरी बालसंगठनको चलअचल सम्पत्तिको तथ्यांक राख्ने, दुराशयपूर्ण सम्झौतालाई पुनर्मूल्यांकन गर्नुपर्ने, बालगृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीका रूपमा दिनेसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने सुझाव दिएको छ ।
यस्तै, प्रतिवेदनमा बालगृहका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनुपर्ने सुझाव दिएको छ ।