
काठमाडौं, चैत २९
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले तत्काल विद्यालय बन्द नगर्न आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य मन्त्रालयले प्रमुख सहरहरुमा विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
प्याब्सनले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये पनि भौगोलिक, अभिभावकको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता आदिका कारण ५० प्रतिशत विद्यार्थीलाई अनलाइन कक्षाले समेट्न नसकेको विगतको लकडाउनबाट नै प्रकाण्ति भइसकेको बताएको छ।
प्याब्सनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ। उसले संक्रमण बढेर विद्यालय बन्द गर्नुपर्ने अवस्था आए सम्बन्धित विद्यालय वा पालिकामा मात्र केही निश्चित समय विद्यालय बन्द गरेपनि अन्य ठाँउमा स्वास्थ्य मापदण्डसहित विद्यालय सञ्चालन गर्नुपर्ने माग पनि राखेको छ।
‘मुलुकभर कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरेरअत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्रै केही निश्चित समयका लागि मात्रै प्रतिबन्धनात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानिका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सिर्जना गरिदिनुहुन नेपाल सरकार समक्ष माग गर्दछौँ’, प्याप्सनका अध्यक्ष टिकाराम पुरी र महासचिव कुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।आवश्यकताअनुसार शैक्षिक संस्थाहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेसन कक्ष, भौतिक दूरीको व्यवस्थापन गरी सम्बन्धित निकायको सहयोग र समन्वयमा काम गर्नु उपयुक्त हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै प्याब्सनले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई खोपको व्यवस्था गर्न पनि माग राखेको छ