शितगंगा १३ मा प्रधानमन्त्री रोजगार कार्यक्रम : चारे देखि ढोंडेनीसम्मको बाटो स्तरोन्नति हुँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

अनिता क्षेत्री, अर्घाखाँची
वडावासीको ईच्छा र चाहाना अनुसार अगाडि बढिरहेको अर्घाखााचीको शितगंगा नगरपालिका वडा नं. १३ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । ज्ञान, सीप र क्षमतायुक्त प्रतिस्पर्धी श्रमशक्तिको विकास र उत्पादनशील आन्तरिक रोजगारी सिर्जनामार्फत श्रमशक्तिको स्वदेशमै पूर्ण उपयोग गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ केन्द्रिय सरकारको योजना अनुसार वडामा यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष दुर्गा बिसीले जानकारी दिए । कार्यक्रम अन्तर्गत वडाको चारे देखि ढोडेनी सम्म रहेको बाटोको स्तरोन्नति गरिने वडा कार्यालयले जनाएको छ । बाटोको ३ मिटर चौडाई र १ मिटर उचाई अनुरुप बाटोको स्तरोन्नति गरिनेछ । रोजगार कार्यक्रममा वडाका ३८ जना बेरोजगार व्यक्तिहरुलाई छनौट गरिएको छ ।
कार्यक्रम चैत २० गतेबाट सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष गोपाल खनालले बताए । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरुको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ । यसरी न्यूनतम रोजगारी प्रदान गर्न नसके नेपाल सरकारले हरेक वेरोजगार परिवारलाई एक जना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्ता दिनु पर्ने व्यवस्था छ ।


प्रकाशित : २०७७ चैत्र ३०, सोमबार ०८:३३