
लुदअ बैशाख १०, नवलपरासी
नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको बुलिङटारमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक दिलिप कुमारी गिरीले नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जाँदै गरेको लु १ ज ३७१० नम्बरको जीप बुलिङटार गाउँपालिका ६, अत्रौलीमा दुर्घटना भएको जानकारी दिनुभयो ।
दुर्घटनामा परि पाल्पा रामपुर –४ बस्ने २३ वर्षीय अजय विकको घटनास्थलमा नै ज्यान गएको उपरीक्षक गिरीले बताउनुभयो । घाइतेमध्ये ५ जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा र ११ जनाको डेढगाउँमा रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिमबहादुर मास्केको अवस्था गम्भीर रहेको गिरीले बताउनुभयो ।
जीपमा १७ जना रहेका थिए । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। ब्रेक फेल भएर जीप सडकबाट ५० मिटर तल खसेको गिरीले बताउनुभयो ।

