
पोखरा ,१३ बैशाख
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पनि अविश्वास प्रस्ताव पेश भएको छ । प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललेप्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन् ।बैठकमा उनले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्ने कारणबारे आफ्ना धारणा राखेका छन् ।
राष्ट्रिय जनमोर्चाका गण्डकीका सांसद गुरुङ सरकारको पक्षमा भए पनि पार्टी केन्द्रीय कमिटीले भने अविश्वासको प्रस्तावमा मतदान गर्न निर्देशन दिइसकेको छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन्। १ स्वतन्त्र सांसद पनि एमाले समर्थक हुन्। २७ मध्ये १ जना माधव नेपाल समूहका छन्। उनले कर्णालीमा जसरी नै फ्लोर क्रस गर्लान्रनगर्लान् भन् छैन।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका ३ दलले वैशाख २ मा गुरुङ सरकारविरुद्ध प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए। विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीसँगै मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गरेका थिए। लगत्तै अरु दलहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन दिएका थिए। सोही माग अनुसार शेरचनले १३ वैशाखमा अधिवेशन आह्वान गरेका हुन्।
वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन्। १२ सांसद रहेको माओवादीबाट १ जनचाहिँ सभामुख छन्।