काठमाडौं, बैशाख १४
बिहीबारबाट निषेधाज्ञा जारी हुने भएपछि उपत्यका छाड्नेको संख्या ह्वात्तैबढेको छ। यातायात व्यवसायीले नियमित यात्रुभन्दा दोब्बर संख्यामा यात्रु बढेको जानकारी दिएका छन ।सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ देखि सार्वजनिक यातायात चल्न नपाउने निर्णय गरेसँगै तीन दिन अघिदेखि नै गाउँ फर्किनेको भीड बढेको हो। व्यवसायीले उपत्यकामा भएका सबै बस सञ्चालन गर्दा पनि यात्रुको चाप धान्न गार्हो परेको जनाएका छन।
‘सरकारले दुई दिनको समय दिएको छ। यात्रुको एकैपटक चाप बढेका छ’, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, ‘आज र भोलि यात्रु धान्नै मुस्किल छ।’
उनले दुई दिन मात्रै समय दिएकाले व्यवस्थित रुपमा यात्रुलाई सेवा दिन नसकेको बताए। मंगलबार बिहानैबाट लामोदूरीको सवारी छुट्ने नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका क्षेत्रमा यात्रुको अत्यधिक चाप रहेको छ।
सरकारले सार्वजनिक एवं निजी सवारीसाधन सञ्चालन बन्द गरे पनि अत्यावश्यक सवारीसाधन भने खुल्लै राखेको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारीसाधन, बिरामी तथा कुरुवा बढीमा २ जना बोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधन काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ।
अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायाका साधन सञ्चालन गर्न पाउनेछन्। स्रोत : नेपाल खबर


















