
काठमाडौं ः
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तल्लो तहसम्मका कार्यकर्तालाई सर्कुलर जारी गर्नुभएको छ । पार्टीभित्रको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयलाई समेटेर ओलीले तल्लो तहसम्म कार्यकर्तालाई सर्कुलर जारी गर्नुभएको हो । पार्टीभिँत्र माधव नेपालसहितको नेताहरूलाई कारबाही गर्ने विषयमा समेत खुलाउनुभएको छ । उहाँले ताजा जनादेशका माध्यमबाट मुलुकलाई राजनीतिक स्थिरता र स्वच्छताको दिशामा लैजाने प्रयास सर्वोच्च अदालतको फैसलाका कारण सफल हुन नसकेको समेत उल्लेख गर्नुभएको छ । सर्वोच्च अदालतको फागुन २३ को फैसलासँगै पार्टी एकीकरणको प्रक्रिया कानुनी रूपमा अन्त्य भएको, पुनःस्थापित प्रतिनिधिसभा अकर्मण्यतामा फस्न पुगेको र नेकपा (एमाले) लाई सुदृढ बनाउन प्राप्त अवसरमाथि माधव नेपाल समूहको स्वार्थको कारणले चुनौती सिर्जना भएको विश्लेषण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन वर्षको समीक्षा गर्दै प्रतिवेदनमा एउटा असल उद्देश्य र मनसायका साथ सुरु गरिएको पार्टी एकीकरण मूलतः सके पार्टी कब्जा गर्ने नभए विभाजन गर्ने पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी, विभाजनकारी र अस्थिर भूमिकाका कारण असफल हुन पुगेको र त्यसमा माधव नेपाल लगायत नेताहरुको कुण्ठा, निहित स्वार्थ र गुटबन्दीको ठूलो भूमिका रहेको निष्कर्ष निकालेको छ ।