
काठमाण्डौ –
प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सरकराको सबै संयन्त्र परिचालित रहेको बताउनुभयो । आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । प्रधानमन्त्रीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो । उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गर्नुभएको छ । स्वास्थ्य मापदण्डको पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उहाँको भनाइ छ । कोरोना सङ्क्रमणको पहिलो लहरमा अपनाइएको सावधानीका कारण महामारी फैलिन नपाएको र अहिले दोस्रो लहरमा पनि त्यस्तै सावधानी अपनाउन ओलीले जोड दिनुभयो ।उहाँले जनस्वास्थ्य मापदण्ड लागू गराउन २४ सै घन्टा सुरक्षाकर्मी परिचालन हुने बताएका बताउँदै मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाही गरिने बताउनुभयो ।जनस्वास्थ्य मापदण्ड कार्यान्वयनको नेतृत्व गृह मन्त्रालयले गर्ने प्रधानमन्त्रीको भनाइ थियो । उहाँले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सरकारले तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने बताउनुभयो । उहाँले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि जानकारी दिनुभयो । यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षसम्म करारमा भर्ना गरिने पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्रीले सम्बोधनमा सार्वजनिकस्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटलमा आइसोलेसन र क्वारेन्टाइन बनाइने बताउनुभएको छ । उहाँले नेपाली सेनालाई १ हजार बेडको अस्पताल बनाउन निर्देशन दिइसकेको जानकारी समेत गराउनुभयो । ‘उपत्यकाको सरकारी र मेडिकल कलेज कोभिड अस्पतालमा प्रयोग गरिन्ने र साना अस्पताललाई नन कोभिड बनाइन्ने पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।