नवलपरासीमा स्थानीय तहले बेवास्ता गर्दा संक्रमितको शव २ दिनदेखि शव गृहमै

[sharethis-inline-buttons]

हरि शर्मा
परासी, २२ बैशाख ः
कोरोना संक्रमणले मृत्यु भएकी पश्चिम नवलपरासी रामग्राम नगरपालिका–४ की ४५ वर्षीया महिलाको २ दिनदेखि शव व्यवस्थापन हुन सकेको छैन । नगरपालिकाले व्यवस्थापनमा ढिलाई गर्दा उनको शव अस्पतालको शव गृहमा राखिएको हो । ‘हामीले मृत्यु हुने बित्तिकै शव व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहहरुलाई जानकारी दिने गरेका छौं । अन्यले तत्कालै लगेका छन् । रामग्रामले भने अहिलेसम्म नलैजादा २ दिनदेखि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । ’ पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए ।
शव व्यवस्थापनका लागि जग्गाको खोजी भइरहेकाले ढिलाई भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए । नगरपालिकाले वडा नं.४,५ र ६ का लागि झरही खोला र वडा नं. १, २ र ३ का लागि वडा नं. १ मा जग्गा व्यवस्थापन गर्ने निर्णय गरेको छ । तर उक्त शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले बिरोध गरेकाले समस्या आएको पन्थीको भनाई छ । १८ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडाहरुका लागि जग्गा व्यवस्थापन गरेपनि अन्य वडाका लागि भने जग्गाको खोजी गर्न नसकिएको पन्थीको भनाई छ । नगरपालिका क्षेत्रमा दैनिकजसो संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ ।
पछिल्लो पटक जिल्लामा कोरोनाको संक्रमण भयावह बन्दै गएको छ । बैशाख पहिलो सातादेखि बुधबारसम्म जिल्लामा संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए ।


प्रकाशित : २०७८ बैशाख २२, बुधबार १२:१९