एमालेले पुस २३ र २४ गते भैरहवामा हुने जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने

[sharethis-inline-buttons]

बुटवल।

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको बैठक सोमबार बुटवलमा सम्पन्न भएको छ । बैठकले यही पुस २३ र २४ गते भैरहवामा हुने पार्टीको जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

अधिवेशनका लागि एकहजार ५३ जना प्रतिनिधि चयन भएको र बाँकी ५३ जना मनोनीत गर्ने निर्णय गर्दै बैठकले सबै क्लष्टर मिलाएर मनोनीत गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ । बैठकमा एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष पुरुषोत्तम घिमिरेले आर्थिक प्रतिवेदन र सचिव जगेश्वरदेवी चौधरीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तीनवटै प्रतिवेदन बैठकले पारित गरेको प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । भैरहवाको गणतान्त्रिक सभाहलमा हुने अधिवेशनलाई व्यवस्थित र प्रभावकारी ढंगले सम्पन्न गर्ने निर्णय बैठकले गरेको चापागाईंले बताए । बैठकलाई संबोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले पार्टीको आगामी राजनीतिक कार्यदिशा, तीनै तहका निर्वाचनमा पार्टीको रणनीतिलगायत समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।

त्यस्तै एमाले रुपन्देहीका इन्चार्ज भूमिश्वर ढकालले जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिने बताए । पार्टीलाई एकढिक्का बनाइराख्नका लागि सबैलाई समेट्ने गरी सर्वसम्मत नेतृत्व चयन गरिने उनले बताए ।


प्रकाशित : २०७८ पुष १९, सोमबार १८:३५