
लुदअ पुस २२, काठमाण्डौ
कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा आज बिहीवार पनि स्थगित भएको छ । हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । यो मुद्दामा झन्डै साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन । लामो समयदेखि मुद्दामा सुनुवाइ हुन नसक्दा लोक सेवा आयोगको वार्षिक क्यालेन्डर नै प्रभावित भएको छ ।
शाखा अधिकृत, नायब सुब्बा लगायत झन्डै १५ सय पदका लागि गरिएको विज्ञापन प्रभावित भएको लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिनुभयो । लोक सेवाको तालिका प्रभावित हुँदा विद्यार्थी भने समस्यामा परेका छन् ।
पहिलेको परीक्षामा अन्तिम चरणसम्म पुगेकाहरू समेत त्यसको टुङ्गो नलाग्दा फेरि सुरुबाट तयारी थाल्नुपर्ने अवस्था आएको छ । शाखा अधिकृतको अन्तर्वार्ता दिइसकेको दुई वर्ष भइसकेर दुई वटा नयाँ विज्ञापन खुल्दासमेत परीक्षाको टुङ्गो नलाग्दा विद्यार्थीमा मानसिक र आर्थिक समस्या भएको छ ।
कतिपय पालिकामा कर्मचारीको अभावसमेत हुन थालेको छ । अप्राविधिकतर्फ शाखा अधिकृत, नायब सुब्बा र खरिदारसहित प्राविधिकतर्फका विद्यालय निरीक्षक र कृषि सेवातर्फका पदमा समेत समस्या देखिन थालेको छ ।
सङ्घीयता कार्यान्वयनमा गएसँगै समायोजनमा असन्तुष्ट रहेका कर्मचारीहरूले कानुनी उपचारमा गएसँगै सर्वोच्च अदालतबाट आएका अन्तरिम आदेशले नयाँ नियुक्तिका प्रक्रिया रोकिएका छन् ।

