डिङ्गरनगर–हरिहरपुर जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण हुँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

तिलोत्तमा, माघ १३ ।

तिलोत्तमा नगरपालिकाको वडा नं. ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिकाको वडा नं. १७ हरिहरपुरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण सुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त पुलको लागत २० करोड ६४ लाख रहेको छ । सडक विभाग अन्तर्गत् ठेक्का भएको उक्त पुल दुई सय मिटर लम्बाईको रहने छ ।

चार स्पान रहने सो पुल पाइल फाउण्डेशनको आधारमा निर्माण हुनेगरी डिजाइन गरिएको जनाइएको छ । प्रि—स्टेस ब्रिजको ११ मिटर चौडाईमा साढे ३ मिटर फुटपाथको लागि छुट्टाइएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको पहलमा बन्न लागेको डिङ्गरनगर–हरिहरपुर तिनाउ नदी पुलको निर्माण कार्यले स्थानीय बासिन्दाको आवागमनमा ठूलो सहजता ल्याउने तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

तिनाउ नदीमा डिङ्गरनगर–हरिहरपुर जोड्ने गरी निर्माण हुने पुलबाट डिङ्गरनगर–हरिहरपुर जनतालाई धेरै सहज हुने तिलोत्तमा वडा नं. ४ का वडाध्यक्ष दिवाकर ढकालले बताउनुभयो । पुलको निर्माण कार्यको ठेक्का शर्मा—सगुन जेभीले प्राप्त गरेको छ । निर्माण कम्पनीका शुशिल बुढाथोकीले तोकिएको समयभन्दा अघि नैं पुलको निर्माण कार्य सक्नेगरी काम अघि बढाइएको बताउनुभयो ।

केही वर्षयता तिनाउ तथा दानव नदीमा एक पछि अर्को स्थानमा पुल निर्माण भैरहेका छन् । यी पुलहरुको निर्माणले समग्रमा रुपन्देहीबासी नै लाभान्वित भएका छन् । दूरीले नजिक भएर पनि पुल नहुँदा समस्या भोग्दै आएका बासिन्दाहरु पुलको निर्माणबाट सबैभन्दा लाभान्वित भएका छन् ।


प्रकाशित : २०७८ माघ १३, बिहीबार १६:११