
लुम्बिनी दर्पण सम्वाददता
लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा गिरफ्तारिमा परेका देखि जनयुद्धका सहिद परिवार सहित ५७ जनालाई प्रदेश पदकबाट विभूषित गरेको छ । मंगलवार स्थायी राजधानी दाङ देउखुरीमा भएको कार्यक्रममा १० वटा विधामा प्रदेश सरकारले ५७ जनालाई विभूषित गरेको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदकसहित उनीहरूलाई विभूषित गर्नुभएको थियो ।
जस अनुसार प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भक्तिप्रसाद आचार्य विभूषित हुनुभएको छ। उहाँ नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गरिएको हो ।
यस्तै, प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादवलाई प्रदान गरिएको छ । सोही पदक रुकुम पूर्वका प्रेम मल्ल र दिलमाया बीएमलाई प्रदान गरिएको छ । दुवैजना जनयुद्धका क्रममा मारिनुभएको बताईएको थियो ।
यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ ४ जनालाई प्रदान गरिएको छ । जसमा बाँकेका माताप्रसाद कुर्मी, गुलजार खान र रोल्पाकी लली रोका र बर्दियाकी निर्मला योगी हुनुहुन्छ ।
यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ गुल्मीका कणर्बहादुर छेत्री, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’ दाङका बासुदेव गौतम र रोल्पाकी तेजकुमारी ओली, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बर्दियाका टीकाराम थारुलाई दिइएको छ । प्रदेश सेवा समर्पण ‘क’ बाट राजेन्द्र थापा विभूषित हुनुभएको छ ।
त्यस्तै प्रदेश सेवा समर्पण ‘ख’ १५ जनालाई, प्रदेश सेवा समर्पण ‘ग’ दुई जनालाई प्रदान गरिएको छ । उजिरसिंह दीप पदक ‘ख’ चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ १ जनालाई, समाजसेवा श्री पदक ‘ख’ ८ जनालाई, समाजसेवा श्री पदक ‘ग’ दुई जनालाई, प्रदेश रत्न पदक ‘ख’ एक जनालाई, प्रदेश रत्न पदक ‘ग’ दुई जनालाई, पुथाश्री शिखर पदक ‘ग’ एक जनालाई, प्रदेश प्रज्ञा पदक ‘ख’ दुई जनालाई प्रदान गरिएको छ ।
प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, प्रजापति गौतमी पदक ‘ग’ दुई जनालाई, दंगीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र दंगीशरण बलिहाङ पदक ‘ग’ एक जनालाई प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश शान्ति र क्रान्ति दुबैको भूमि भएको बताउनुभएको छ। प्रदेश स्थापना दिवसका अवसरमा स्थायी राजधानी दाङको देउखुरीमा भएको कार्यक्रममा बोल्दै उहाँले लुम्बिनी प्रदेश शान्तिको अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल र अहिलेको व्यवस्था ल्याउन क्रान्तिको सुरु गर्ने दुबैको भूमि भएको बताउनुभयो ।
यस्तो ऐतिहाशिक भूमीको विकासका लागि सबै निस्वार्थ रुपले लाग्नु पर्ने उहाँको भनाई छ । ‘लुम्बिनी प्रदेश शान्ति र क्रान्तिको ऐतिहाशिक तथ्य बोकेको भूमी हो,’ उहाँले भन्नुभयो ‘यसको विकासमा आजैबाट दलीय स्वार्थ त्यगेर, दुर दृष्टिका साथ एउटा मिसनका साथ अगाडी बढ्न आवश्यक छ ।’
राजनीतिक स्वार्थले मुलुक अस्थिर बन्ने र लोकतन्त्र नै खतरामा पर्ने अवस्था सृजना भएको मुख्यमन्त्री केसीको भनाई छ । तर लुम्बिनी प्रदेशले मुलुक अस्थिर बनाउन कोशिस गर्ने आयातित एजेण्डाहरुलाई पन्छ्याउन सक्ने पनि उहाँले बताउनुभयो ।
‘हामीले बोकेको संविधान, लोकतन्त्रमा भएका अभ्यासमा आजभोली देखिएको प्रतिशोधि टकराबले र आयातित एजेण्डाको चक्रव्यूले मुलुकलाई अस्थिर बनाउने कोशिस भइरहेको छ,’ मुख्यमन्त्री केसीले भन्नुभयो, ‘तर त्यस्ता एजेण्डाहरु पन्छ्याउने शाहस र एकता प्रदर्शन गर्ने यो प्रदेशको पहिचान बन्ने छ ।’
उहाँले लुम्बिनी प्रदेश नयाँ विकासको चरणमा पुगेको समेत दाबी गरे । प्रदेशमा निर्माणका चरणमा रहेका केही आयोजनाहरु पूरा भए लुम्बिनी प्रदेश सबैले सोचको भन्दा फरक अनुभूतिको संसार हुने उनले बताउनुभयो ।
‘जब भैरहवा विमान स्थलबाट नियमिति उडान हुन्छ, भेरी बबई डाइभर्सन सुरु हुन्छ, सिक्टा-बट्का पथ परियोजना सञ्चालन हुन्छ । जब नौमुरे जलाशय परियोजना थालनी हुन्छ,’ उहाँले अगाडी भन्नुभयो, ‘जब बुटवल शिद्धबाबाट सुरुङ मार्ग चालु हुन्छ, गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा एकै दिन हजारौँको संख्यामा पर्यटकहरुको आगमन हुन्छ । फरक विषयको अध्ययन गर्न लुम्बिनीको प्रादेशिक विश्व विद्यालयको स्थापना हुन्छ र प्रदेशका १२ जिल्लाका पर्यटकीय स्थलसँग जब सम्पर्क हुन्छ यो प्रदेश सोचेभन्दा फरक अनुभूतिको संसार हुनेछ ।’

