महाकाली सन्धी गर्दा झुक्याउनेहरु एमसीसीमा पनि मुर्ख बनाउन खोज्दैछन् : राजेश विक

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

श्यामलाल पोखरेल,बुटवल 

विवादित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले बुधबार देशभर प्रदर्शन गरेको छ । एमसीसीविरुद्व राष्ट्रिय जनमोर्चाले एकल र संयुक्त रुपमा प्रदर्शन गर्नुका साथै मसाल जुलुस निकालेको छ। राष्ट्रिय जनमोर्चा सैनामैना नगर समिति रुपन्देहीले बुधबार रुपन्देहीको सैनामैनास्थित मुर्गियामा एमसीसीविरुद्व मसाल जुलुस निकालेको हो।

मसाल जुलुसपछि आयोजित बिरोध सभामा बोल्दै राष्ट्रिय सभा सदस्य राजेश विश्वकर्माले महाकाली सन्धि गर्दा जसरी झुक्काइएको थियो अहिले त्यसैगरी एमसीसीबाट बिकास हुन्छ भनेर झुक्काउने प्रयास भैरहेको बताउनुभयो। ‘एमसीसीले देशको विकास गर्न सकिन्छ भन्नु मुर्खता हो। मुर्खहरुले फेरि विकासको नाममा एमसीसी परियोजना ल्याएर नेपाललाई अमेरिकाको उपनिवेश बनाउन लागेकाछन्’ उहाँले भन्नुभयो, ‘एमसीसी परियोजनाको माध्यमबाट नेपालको भूमि प्रयोग गरेर चीनमाथि हमाल गर्ने अमेरिकाको शैन्य रणनीति भएकाले समयमै सचेत हुन नसकिए नेपाल र नेपालीका लागि धोक्का हुन्छ ।’

राष्ट्रिय जनमोर्चाका सल्लाहाकारसमेत रहेका नेता राजेश विश्वकर्माले अमेरिकी एमसीसी परियोजना अनुदान होइन, लगानी हो भन्नुभयो । ‘लगानी र अनुदान फरक हो । अमेरिकाले एमसीसी परियोजना लगानी भन्दा पनि आफूलाई ठूलो दल भन्न रुचाउने दलका शासक नेताहरुले लगानी होइन अनुदान हो भनेर फेरि पनि झुक्कउँदै छन्। अब राष्ट्रबादी जनता एकजुट हुनुको विकल्प छैन’ उहाँले भन्नुभयो । राष्ट्रिय जनमोर्चाका नेता तथा सल्लाहाकार चन्दबहादुर केसीले शासक दलका नेताहरुले एमसीसी परियोजनाका नाममा नेपाल र नेपालीलाई बेचेर खान लागेको बताउनुभयो । ५५ अर्बको लोभमा संसदबाट एमसीसी पास गरेर देशलाई कंगाल बनाउनेका बिरुद्व अब जुरमुराउने बेला आएको बताउनुभयो।


प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार १५:०४