मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाएका छन् । एक महिना सम्म बसेको रोजा सकुशल पुरा गरेकोमा त्यसैको धन्यवाद दिन ईद मनाउने गरिएको छ । एक महिना सम्म रोज पुरा गर्न शक्ति दिएकोमा र आपसमा खुशी साटासाट गर्नु नै ईदको बिशेषता हो । रुपन्देहीको बिभिन्न स्थानमा रहेको ईदगाहहरुमा बिशेष कार्यक्रमको साथै नमाज पढी ईद मनाउन सुरु गरिएको छ । बिशेष गरि नेपालमा शान्तीको कामना लगायत देश सुखी र समृद्धिको कामना नमाज पढ्नहरुले गरेका थिए । ईमाम फैजुल्लाह असर्फिका अनुसार एक महिना सम्म रोज पुरा गर्न शक्ति दिएकोमा र आपसमा खुशी साटासाट गर्नु नै इदको बिशेषता भएको बताए ।
अरबी पात्रो हिजरी सम्वतअनुसार दशौं महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशिर्वाद लिने तथा आफूभन्दा सानालाई आशिर्वाद दिने गरिन्छ । आशिर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।
रमजान महिनाभरि गरिबलाई सहयोग गर्ने र महिनाभरिको दिनलाई एक दिन धन्यवाद ज्ञापन गर्न तथा एक आपसमा शुभकामना आदानप्रदान गर्न ईद मनाउने गरिएको अकिल मुसलमानले बताए । पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’ मा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ ।
इदको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।




















