बुटवल मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइन तयार भएको छ । आधुनिक पुलको डिजाइन तयार पारेर त्यसलाई मूर्त रुप दिन नेपाली र विदेशी इन्जिनियरहरुले अहिले धमाधम काम गरिरहेका छन् ।
विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल डिजाइनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट विनियोजन गर्नुभएको थियो। तर देउवा नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले ८ वटा पुलका लागि विनियोजन भएको पैसा काटेर एउटा पुलको लागि मात्र रकम विनियोजन गरेका थिए।
अर्थमन्त्रालयका सचिवहरुले पूर्वअर्थमन्त्री पौडेलकै परिकल्पना अनुसार सिग्नेचर व्रिजको बजेट ब्यवस्था गरिएकाले बुटवलको पुल नकाट्न आग्रह गरेपछि मन्त्री शर्मा सहमत भएका हुन्। सरकारले अहिले चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा गरि जम्मा २ वटा पुल बनाउने तयारी गरेको छ।
चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन करिव सम्पन्न भएको छ। पहिलो चरणमा सार्वजनिक गरिएको आर्किटेक डिजाइनलाई अन्तिम रुप दिन पुलविज्ञहरु र विश्व बैंकका प्रतिनिधिले केही महिना अघि बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र सरोकारवालासँग समेत परामर्श गरेका थिए।
नेता पौडेलले अहिलेको पुल विस्थापित गरेर तिनाउमा सिग्नेचर पुल निर्माण गर्ने,पुलको दुवै मुखबाट तिनाउ र दानव नदी करिडोर निर्माण गरेर भारतीय सिमानासम्म जोड्ने घोषणा अघिल्लो निर्वाचनमा गरेका थिए । घोषणा अनुसार तिनाउ दानव नदी करिडोर निर्माण शुरु भइसकेको छ । तिनाउको सिग्नेचर व्रिज पनि केही महिनापछि शुरु हुने अपेक्षा छ।
‘बर्तमान सरकारले विष्ण्ुा पौडेलको कार्यक्रम भनेर यसलाई रोक्न खोजिरहेको छ,हामी रोक्न दिन्नौं,कथं यो सरकारले सिग्नेचर व्रिज निर्माण रोकिहाल्यो भने हामी सरकारमा गएपछि शुरु गछौं’(नेता पौडेलले विहीवार उद्योगी ब्यवसायिको भेलालाई सम्वोधन गर्र्दै भन्नुभयो।
अहिले भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टीङले यो पुलको आर्किटेक डिजाइन तयार पारेको छ। पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ।
यी दुवै कामको समन्वय नेपाल सरकार सडक विभागको पुल महाशाखाले गरिरहेको छ। उक्त महाशाखाका प्रमुख इन्जिनियर उमेशविन्दु श्रेष्ठले सिग्नेचर पुल बनाउन प्रस्ताव गरिएका मध्ये बुटवलबाटै पहिलो काम सुरु भएको र कन्सेप्ट डिजाइन पनि अन्तिम चरणमा पुगेको जानकारी दिन्भयो।
ओली नेतृत्वको सरकारले २०७५ मा नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो। विश्व बैंकले सिग्नेचर पुल निर्माणका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको थियो।




















