बुटवल । समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा थोपरिएको कर फिर्ता गरि मुल्यबृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छन् ।विद्यार्थीको संघठनका अध्यक्ष रुपनारायण श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर्न माग गरेको छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको बहाना बनाई नेपाली जनताले किन्नै नसक्ने गरि मुल्य वृद्धि गर्नु घोर अमानवीय रबैया भएको अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको बहाना बनाई नेपाली जनताले सरकारले पेट्रोलियम पदार्थमा गरिरहेको मुल्यबृद्धिले नेपाली जनजिवनलाई संकटपुर्ण परिस्थितिमा पुर्याएको छ । नेपाली जनताले किन्नै नसक्ने गरि मुल्य वृद्धि गर्नु घोर अमानवीय रबैया हो । पेट्रोलियम पदार्थको करबाट राज्य संचालन गर्ने, बस्तु उत्पादन र निर्यातमा ध्यान नदिने, उठाइएको कर सदुपयोग नगरी दोहन गरि कार्यकर्ता पोस्ने प्रवृत्ति फस्टाउँदै जानु चिन्ताजनक अवस्था हो । आर्थिक मन्दी र कोभिडले थिलो बनाएको अर्थतन्त्रमा जनतालाई राहत दिनुपर्नेमा सरकार गैरजिम्मेवार बन्दै जनताको दैनिकि नै नचल्ने गरि मूल्य वृद्धि गरिएको प्रति खेद व्यक्त गर्दछौं । अहिलेको अवस्थामा कर छुट मात्रै होइन निगमलाई अनुदान दिएर मूल्य घटाई जनतालाई राहत दिन सरकारसँग जोडदार माग गर्दछौं ।
जनतालाई तत्काल राहत नदिने तथा सरकार क्रूर, निर्मम बन्ने हो भने आगामी संसदीय निर्वाचनमा लज्जास्पद हार बेहोर्न तयार रहन सरकारलाई चेतावनी दिन चाहन्छौं ।
पेट्रोलियम पदार्थको आयात घटाएर दीर्घकालीन समाधानको लागि बिद्युतिय सवारी साधन तथा चुल्यो प्रयोग गर्न जनतालाई प्रोत्साहन गर्न उचित कदम चाल्न माग गर्दछौं ।
हाम्रो संगठन समाजवादी विद्यार्थी युनियन सबैखाले गैरजिम्मेवारी, अराजकता, जनविरोधी कदमको विरुद्धमा आवाज उठाउँदै आएको छ । मूल्य वृद्धि, कालोबजारी, ठगी जस्ता कदमको विरुद्धमा कडा प्रतिवाद गर्दै आएका छौं, गरिरहने छौं । हाम्रो संगठनको जनपक्षिय आन्दोलनमा साथ दिन सबैमा हार्दिक अपिल गर्दै कठोर संघर्षका कार्यक्रम अघि बढाउने सरकारलाई चेतावनी दिन चाहन्छौं ।




















