असार ३ बुटवल । बुटवलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वदेशमा उत्पादित चिया पिउने प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । बुटवलमा शुक्रबारदेखि शुरु नेपाली चिया प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रमको उद्घाटन मुख्यमन्त्री केसीले उक्त प्रतिवद्धतामा हस्ताक्षर गरेर सुरु भएको हो ।कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनमूलक उद्योग स्थापनाका लागि प्रदेश सरकार जग्गा उपलव्ध गराउन समेत तयार रहेको बताए । लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै उनले बिदेशी उत्पादन निरुत्साहित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा सुरु भएको प्रदर्शनीमा देशभरीका चिया उत्पादक किसान, उद्योगी तथा व्यवसायी सहभागी छन् । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टि एशोसिएशन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एशोसिएशन नेपाल, नेपाल टि प्रोड्युसर एशोसिएशन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटि टी एशोसिएशन नेपालमा आवद्ध एक सय बढी ब्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरु राखिएका छ ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा। विष्णु प्रसाद भट्टराईले आम नागरिकलाई चिया पिउने सही तरिका बताउने र नेपाली चियाको बारेमा बजार बिस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको बताए ।राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा। दिपक खनालले नेपालबाट ठूलो परिमाणमा चिया नर्यात हुने गरेको बताउँदै बोर्डले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि पहिलोपल्ट चिया प्रदर्शनी कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल टि एशोसिएशनका कमल मैनालीलगायतले पनि मुलुकको आर्थिक उन्नती र समृद्धिको यात्रालाई अघि बढाउन स्वदेशी उत्पादन बढाउनुपर्ने र स्वदेशी वस्तु निर्यात गरी विदेशी मुर्जा आर्जन गर्ने दिशातर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।




















