रुपन्देही, ४ असार ।रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधान गर्न शुक्रबारदेखि गृहकार्य सुरु भएको छ । सैनामैना वडा नम्बर १ देखि नै नापजाँचको प्रक्रिया अघि बढिसकेको नगरपालिकाले जनाएको छ । हालै निर्वाचित सैनामैनाका जनप्रतिनिधिहरुले सुकुम्बासी समाधान गर्न पहिलो चरणको प्रक्रियालाई अघि बढाएको बताएका छन् ।राष्ट्रिय भूमि आयोग रुपन्देही, नापी कार्यालयका कर्मचारी, सैनामैनाका जनप्रतिनिधिहरु, क्रियाशिल राजनीतिक दल र स्थानीयको उपस्थितिमा शुक्रबारदेखि नापजाँच प्रक्रिया सुरु भएको छ ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले आयोग सुकुम्बासी समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको बताएका छन् । समयमै सम्झौता नगर्दा सैनामैनामा सुकुम्बासी समस्या समाधानका प्रक्रिया विलम्ब हुन गएको बताउँदै अध्यक्ष आचार्यले बास्तविक भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पहिचान गरी तथ्यांक दिन समेत नगरपालिकालाई निर्देशन दिए । उनले भने, ‘सुकुम्बासी र अव्यवस्थित बसोबासीले भन्दा पहिला भूमिहिन दलितले छिटो लालपुर्जा पाउँछ, त्यसपछि क्रमश सुकुम्बासी र अव्यवस्थित समस्या समाधान हुन्छ । ’
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले सैनामैनाका सुकुम्बासी जनतालाई मालिक बनाएर छाड्ने दृढता व्यक्त गरे । उनले जनताले दिएको अभिमतलाई दुरुपयोग नगर्ने अडान राख्दै लामो समयदेखि प्रमुख समस्याकै रुपमा रहेको सुकुम्बासी समाधान गर्न प्रक्रियालाई सुचारु गरिसकेको कुरा दर्साए । राष्ट्रिय भूमि आयोगबाट खटिने प्राविधिक टोलीसंग सैनामैनाका प्राविधिक टोली, जनप्रतिनिधिको रोहवरमा जग्गा नापजाँच अघि बढेको र यो कार्यमा जनताले पनि सहयोग गर्नुपर्ने आशा नगरप्रमुख शर्माले लिएका छन् ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य बद्रे आलम, सदस्य यमलाल तिवारी, सर्वेक्षक यम प्रसाद पाण्डे लगायतले बोलेका थिए ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य राम प्रसाद भट्टराई, नेपाली कांग्रेस सैनामैनाका सभापति रण बहादुर खनाल, नेकपा ९माओवादी केन्द्र० सैनामैनाका अध्यक्ष मान बहादुर महत, जसपाका नेता लक्ष्मी शर्मा, कांग्रेस सैनामैना नगरसचिव अर्जुन पौडेल, कांग्रेस सैनामैना वडा नम्बर १का सभापति पुष्पराज सिग्देल, जनप्रतिनिधि मञ्जु परियार, सैनामैना खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष कविराज कुंवर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भुवन बहादुर क्षेत्रीको अध्यक्षता तथा राम बहादुर कुवंरको सञ्चालनमा सम्पन्न भएको थियो ।




















