असार,८ ललितपुर । ललितपुरमा घाइते जनावरलाई अस्पताल पुर्याउन भेटरीनरी एम्बुलेन्स सुरु गरेको छ ।ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्याउन बुधबारदेखि भेटरीनरी एम्बुलेन्स सुरु गरेको छ । जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको हो ।महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बुधबार महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरे । महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरु गरेको बताए ।
हामी जनावरको अधिकारप्रति संवेदनशील छौं, सडकपेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदोरहेछ, त्यसैले व्यवस्था गरेको हौं’ उनले भने ।स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले बिरामी जनावर बोक्न अब सजिलो हुने बताइन् । ‘बिरामी गाईलाई बोक्न निकै अप्ठ्यारो भएको थियो, अब सजिलो हुन्छ’ उनले भनिन् ।
उनले जनावरको अधिकारप्रति संवेदनशील भएकोमा महानगरलाई धन्यवाद दिइन् । ललितपुर महानगरपालिकाले कोरोना महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो ।




















