असार २१ काठमाडौं । देवी काली चुरोट पिएको तस्वीर पोष्टर क्यानडामा सार्वजनिक भएपछि क्यानडा र भारतमा विवाद भएको छ ।भारतीय फिल्म निर्माता लीना मनिमेकलाईले बनाएको फिल्म कालीको पोस्टरमा चुरोट तानेको तस्वीर अंकित छ । देवी कालीको रुपमा रहेकी महिलाले चुरोट तानिरहेको तस्वीरसहितको पोष्टर क्यानडामा सार्वजनिक भएपछि क्यानडा र भारतमा विरोध भएको छ । क्यानडाको टोरोन्टोस्थित अघा खान म्यूजियमको अन्डर त टेन्ट प्रोजेक्ट अन्तर्गत उनले तयार पारेको फिल्मको पोस्टर सार्वजनिक गरेकी थिइन् ।यो पोस्टर सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको विरोध भएको छ । र विरोध जनाउनेहरुमा अधिकांश भारतीय हिन्दुधर्मावलम्बी छन् ।
दिल्ली र उत्तर प्रदेश प्रहरीमा यस मामिलामा उजुरी दर्ता भएको छ। उत्तर प्रदेश पुलिसले फिल्म निर्माता लीना मणिमेकलाई विरुद्ध आपराधिक षड्यन्त्र, जानाजानी धार्मिक भावनामा चोट पुर्याउने, शान्ति भङ्ग गर्ने अभियोगमा मुद्दा दर्ता गरेको हो ।हिन्दुवादी संघ संस्थाले मनिमेकलाईमाथि कारबाहीको माग गरेर क्यानडा र भारतमा छुट्टा छुट्टै उजुरी नै दर्ता गराइसकेका छन् । क्यानडाको ओटावास्थित भारतीय उच्चायोगले पनि विरोधमा विज्ञप्ति नै निकालेको छ र पोस्टर हटाउन भनेको छ ।मनिमेकलाईले भने विवादित बनेको पोस्टर मानवताको स्वरुप भएको र यसले विविधताको सम्मान गर्ने दाबी गरेकी छिन् ।




















