असार ३२, भक्तपुर । भक्तपुरमा आफ्नै घरमा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका(२ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले बताए ।तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा वृद्धको शव भेटिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घरको भुइँतलामा वृद्ध एक्लै बस्थे भने उनका छोरा बुहारी माथिल्लो तलामा बस्थे । ‘हिँडडुल गर्न नसक्ने भएकाले वृद्ध भुइँतलामा नै बस्ने रहेछन्, छोराबुहारीले खाना तल नै ल्याइदिने रहेछन्’ उनले भने ।वृद्धको मृत्युको कारण भने खुलेको छैन । ‘वृद्ध अवस्थाको भएकाले चुरोट खाँदा लुगामा आगो लागेको पनि हुन सक्छ वा अरु नै पनि हुन सक्छ, हामी अनुसन्धान गर्दैछौं’ डीएसपी पाण्डेले बताए।




















