१० कम्पनी कालोसूचिमा , बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई छुटकारा

[sharethis-inline-buttons]

लुुदस, बुटवल
ठेक्का सम्झौता गरेर समयमा काम सम्पन्न नगर्ने १० निर्माण व्यवसायी कालोसूचीमा परे पनि बुटवलको ६ लेन सडक अलपत्र पार्ने ठेकेदारले भने उन्मुक्ति पाएका छन्।
बुटवल-बेलहिया सडकलाई अलपत्र पार्ने ठेकेदार कम्पनीले पटक-पटक सूचना जारी गर्दा पनि बेवास्ता गरी अलपत्र पारेको छ। ठेक्का लिएको काम समयमै नसक्ने र निर्माण लागत बढाएर काम अलपत्र पार्ने कम्पनीलाई सार्वजनिक खरीद अनुगमन कार्यालयले कारबाहीसहित सूची सार्वजनिक गरेको छ ।

लामो समयदेखि आलोचना खेपेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीसमेत कालो सूचीमा परेको छ। अनुगमन कार्यालयले बुधबार सार्वजनिक गरेको सूचना अनुसार अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीलाई तीन वर्ष कुनै काम गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

दुई चिनियाँसहित दश निर्माण कम्पनीलाई कुनै नयाँ खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको अनुगमन कार्यालयले प्रकाशित सार्वजनिक सूचनामा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रकाशित सूचनामा बुटवल बेलहिया सडकमा लापरवाही गर्ने द कञ्चनजङघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिको नाम भने छैन। सडक बिभागले सो कम्पनीलाई उन्मुक्ति दिने योजना अन्तर्गत कालोसूचिका लागि सिफारिस नगरेपछि ठेकेदारले उन्मुक्ति पाएको हो ।

बुटवल उपमहानगरपालिकाले राखेको एक छलफलमा बिभागका उपनिर्देशक दिपक श्रेष्ठले खरीद ऐनको १२ औ संशोधनले कारवाही गर्न नमिल्ने तर्क गरेका थिए। उनले सूक्ष्म अनुगमन गर्दै काम गर्न दिएर एक पटकलाई म्याद थपिदिने संकेत गर्दै ठेकेदारको बचाउको पक्षमा धारणा राखेका थिए।

ऐनको संशोधनमा उल्लेख भएको ऐन जारी भएको २१ दिन भित्र ठेकेदार कम्पनीले निबेदन नदिएमा र लगातार ६ महिना काम नगरी काममा लापरवाही गरेको अवस्थामा बाहेक ठेक्का सिधै खारेज गर्न नमिल्ने विभागको तर्क छ ।

स्थानीय प्रशासनको निर्देशनको अवज्ञा, पटक पटक म्याद गुजार्नु र बिभाग अन्तर्गतको परियोजनाले ठेक्का किन खारेज नगर्ने ? भनेर स्पष्टिकरण सोधिसकेको अवस्थामा ऐनले कालोसूचीमा राख्न र ठेक्का खारेज गर्न नरोक्ने भएपनि कञ्चनजङघा बिरुवा जेभी कन्स्ट्रक्सनले उन्मुक्ति पाउनुलाई रहस्यमय ढङ्गले हेरिएको छ ।
बुटवल-बेलहिया सडकको ३ स्थानमा काम अलपत्र पार्ने उक्त निर्माण कम्पनीका ठेकेदार बारे बुटवल-बेलहिया व्यापारीक सडक परियोजनाकी सूचना अधिकृत सबिता ज्ञवालीले बिभागका उपमहानिर्देक श्रेष्ठले भाद्र महिनाभरी कडा अनुगमनमा राखेर काम गराउने निर्देशन दिएको जानकारी दिइन् । अन्य निणर्य भएको विषयमा बिभागबाट कुनै जानकारी नआएको उनले बताईन् ।
कार्ययोजना पेश ठेक्का आफ्नो हातबाट फुस्किने भएपछि निर्माण कम्पनीले ठेक्का अवधि थप्न माग गर्दै सडक विभाग र व्यापारिक मार्ग विस्तार आयोजनामा निवेदन दिएको थियो। जसमा उसले २०८० असार मसान्तसम्म काम सम्पन्न गर्ने कार्ययोजनासमेत पेश गरेको छ ।
कम्पनीले ०७९ कात्तिकसम्म कुल ठेक्काको ३० प्रतिशत काम सम्पन्न गर्ने र चैत मसान्तसम्म ७० प्रतिशत काम सम्पन्न गर्ने कार्ययोजना प्रस्तुत गरेको व्यापारिक मार्ग विस्तार आयोजनाका सूचना अधिकारी ईन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।
कम्पनीले कात्तिकसम्म १ सय १० दिन काम गरेर सडक छेउछाउको नाली पूरा गर्ने, ७० प्रतिशत नाली कभर लगाउने र ३० प्रतिशत सडक पिच गर्ने योजना पेश गरेको छ। यस्तै ०८० जेठ महिनामा बेस वर्क पूरा गरेर असार १५ सम्ममा सडक कालोपत्रे गर्ने कम्पनीको योजना छ। सडक सुरक्षा र फुटपाथको काम बाँकी रहेको १५ दिनमा गरिसक्ने कम्पनीको दाबी छ ।


प्रकाशित : २०७९ भाद्र ८, बुधबार १६:०७