लुम्बिनीमा डेंगी संक्रमणबाट ३ जनाको मृत्यु, झन्डै २७ सय संक्रमित

[sharethis-inline-buttons]

लुदअ, बुटवल
कोभिडको संक्रमण केहि मत्थर भइरहँदा पछिल्लो दुईतीन महिनायता डेंगीको संक्रमण महामारी रूपमा फैलिन थालेको छ । संक्रमितहरूको संख्या बढिरहँदा मृत्यु हुनेको संख्या पनि त्यतिकै संख्यामा बढिरहेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगीको संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ । सयौं संक्रमित अस्पतालमा भर्ना भएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार पाल्पा, दाङ र बर्दियामा एक–एक जनाको डेंगी संक्रमणबाट मृत्यु भएको छ ।
पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूषको डेंगी संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै भदौ २७ गते नै दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिलाको पनि डेंगी संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगी संक्रमणबाट भदौ २२ गते मृत्यु भएको थियो ।
प्रदेश निर्देशनालयका प्रवक्ता पौडेलले लुम्बिनी प्रदेशमा असोज ४ गतेसम्म २ हजार ६ सय ८३ जनामा डेंगीको संक्रमण भएको जानकारी दिए । भदौ महिनामा एक्कासी संक्रमण बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पनि डेंगी संक्रमितहरूको दैनिक भिड लाग्ने गरेको छ ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगी संक्रमित आउने गरेको निर्देशनालले जनाएको छ ।
गत साउन मसान्तसम्म करिब ४ सय जनामा डेंगीको संक्रमण पुष्टि भएकोमा भदौ महिनामा मात्रै २२ सयभन्दा बढि संक्रमित थपिएको प्रवक्ता पौडेलले बताए ।
तर, लुम्बिनी प्रदेश सरकारले डेंगी नियन्त्रणका लागि भने अहिलेसम्म कुनैपनि बजेट बिनियोजन गरेको छैन । निर्देशनालयका प्रवक्ता पौडेलले यसअघि नै विभिन्न महामारीजन्य रोगका लागि सरकारले एकमुष्ठ बजेट छुट्याएकोमा अहिलेसम्म सोहि बजेटबाट काम चलाइरहेको बताउँछन् ।
रूपन्देहीमा पहिलोपटक २०६७÷६८ मा २ सय ९० जनामा देखिएको डेंगीको संक्रमण २०७६÷७७ मा महामारीकै रूपमा फैलिएर २ हजार ९ सय ३० जनामा देखिएको थियो।
तर, यसवर्ष भने डेंगी रोकथाम अभियान शून्य भएपछि डेंगी संक्रमण महामारीको रूपमा फैलिरहेको छ ।
डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी र गमलामा यसले फूल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरूले आग्रह गरेका छन् । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने भएकाले शरिर ढाकिने कपडा लगाउन उनीहरूको सुझाव छ ।


प्रकाशित : २०७९ आश्विन ६, बिहीबार ०८:०४