निष्पक्ष निर्वाचन हुने राष्ट्रपतिको विश्वास

[sharethis-inline-buttons]

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरुसँगको भेटवार्ताका क्रममा निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी राख्ने छैन भनी विश्वास गरेकी हुन्।

निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभई राजनीतिक दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको पनि भएको हुँदा सबैको सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने उनको भनाइ छ।

राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगले गरिरहेको तयारीका कार्यबारे जानकारी गराएका थिए।


प्रकाशित : २०७९ कार्तिक १८, शुक्रबार १६:१२