निर्वाचन सरगर्मी , कपिलबस्तु-२ मा गुप्ता र आचार्य दोस्रोपटक भिड्दै

[sharethis-inline-buttons]

लुदस जितपुर

निर्वाचन नजिकिदै जाँदा कपिलबस्तुमा चुनावी माहोल तात्तिन थालेको छ । प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्र रहेको कपिलबस्तुमा विशेषगरी प्रतिनिधि सभाको क्षेत्र नं. २ यतिबेला निकै रोचक र चर्चामा छ ।

कारण, नेकपा एमाले र गठबन्धन दुवैबाट ‘हेभी’ उम्मेद्वार मात्र हैन, कपिलबस्तु-२ मा पूर्वमन्त्रीद्धय भइसकेका नेता दोस्रोपटक चुनावी मैदानमा छन् । साथसाथै निर्वाचनको समिपमा यहाँका दल र उम्मेदवार आन्तरिक जोड घटाउ र प्रचारप्रसारमा व्यस्त देखिन्छन् । चुनावी माहौल तातिएसँगै चोकचोक र चियापसलहरुमा पनि सम्भावित निर्वाचन परिणामको विषयमा छलफल र चर्चा भइरहेको छ ।

यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य र नेकपा एमालेबाट बृजेशकुमार गुप्ता प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा पराजय भोगेका आचार्य यसपटक सत्ता गठबन्धनको सहयोगका कारण बलिया उम्मेदवार मानिन्छन् । आचार्य पूर्वसिचाइँ राज्यमन्त्री, गुप्ता पूर्वकानुन तथा न्यायमन्त्री हुन् ।
दुई कार्यकालसम्म नेपाली काँग्रेसको जिल्ला सभापती सम्हालेका आचार्य हाल काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री हुन् । २०७० सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित आचार्य सिँचाइ राज्यमन्त्री भएका थिए । ०७३ श्रावण २० मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को मन्त्रीमण्डलमा आचार्य सिंचाई राज्यमन्त्री भएका थिए ।
०७४ सालका निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका आचार्य वाम गठबन्धन (गुप्ता)सँग तीन हजार ५८१ मतले पराजित भएका थिए । आचार्यको निर्वाचन क्षेत्रमा रहेका दुईवटा पालिका नेपाली काँग्रेसले जितेको हुँदा जित्ने सम्भावना रहेको बिश्लेषकको बुझाई छ । बुद्धभूमि नगरपालिका र महाराजगन्ज नगरपालिकामा आचार्य निकटका व्यक्तिले जितेकाले थप प्रभाव रहेको बुझिएको छ । आचार्यले २०७४ को निर्वाचनमा ३१ हजार ५६६ मत ल्याएका थिए ।
०७४ सालमा स्वतन्त्र भन्दै सूर्य चिह्नबाट लडेका वृजेश गुप्ता अहिले एमालेबाट उम्मेदवार बनेका छन् । २०५६ सालमा राप्रपाबाट राजनीति शुरु गरेका गुप्ता चारपटक सांसद निर्वाचित भइसकेका छन् । गुप्ता तत्कालिन राजा ज्ञानेन्द्र शाहको अध्यक्षतामा ०६१ माघ २० मा गठन भएको मन्त्रिपरिषद्को राज्यमन्त्री समेत बनेका थिए । तत्पश्चात डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ०६८ कार्तिकदेखि ०६९ बैशाखसम्म कानुन तथा न्याय मन्त्रीमा चयन भए ।
२०६४ र २०७० का दुई संविधानसभा निर्वाचन गुप्ताले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट जिते । एमालेका साथमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट २०७४ सालमा पनि गुप्ता निर्वाचित भएका थिए । हरेक पटकको निर्वाचनमा पार्टी फेर्दै चुनाव लड्दै आएका पूर्वमन्त्री गुप्ता योपटक एमालेबाट यही क्षेत्रमा उम्मेदवार छन् । ०७४ को निर्वाचनमा गुप्ताले ३५ हजार १४७ मत ल्याई निर्वाचित भएका थिए ।
आचार्य र गुप्ताबीच यो दोस्रो चुनावी लडाई हो । ०७४ को आमनिर्वाचनमा गुप्ताले जीत हासिल गरे भने आचार्य पराजित हुन पुगे । गुप्ता यो निर्वाचन जितेर पाँचौपटक संसद प्रवेशको कसरतमा देखिन्छन् । आचार्य दोस्रोपटक संसद प्रवेशलाई ग्यारेन्टी दिँदै चुनावी अभियानमा छन् । तत्कालिन संविधान सभा निर्वाचन क्षेत्र नं. ३ रहेको यो क्षेत्र हाल संघीय संरचना अनुसार क्षेत्र नं. २ पर्दछ । संबिधानसभा निर्वाचनका बखत कपिलबस्तुमा ५ वटा निर्वाचन क्षेत्र रहेका थिए ।

कांग्रेस उम्मेदवार आचार्य ०७० को संविधान सभामा निर्वाचित भए पनि त्यस उता र यता कुनै चुनाव जितेका छैनन्् । ०५६ मा कांग्रेसबाट टिकट नपाए पछि बागी उम्मेदवार बनेका आचार्यले ०७० सालमा संविधान सभा निर्वाचन क्षेत्र नं. ४ बाट चुनाव जितेका थिए ।
गुप्ताले ०६४ र ०७० मा कांग्रेस नेता सुधाकर पाण्डेयलाई हराउँदै चुनाव जितेका थिए । आचार्यले ०७० मा एमालेका नेता नेत्रराज अधिकारीलाई हराएर विजयी भएका थिए । कपिलबस्तु-२ बुद्धभूमि नगरपालिकाका १० वटै वडा, कपिलवस्तु नगरपालिकाका ७ वटा वडा, यशोधरा गाउँपालिकाका ८ वटै वडा र महाराजगन्ज नगरपालिकाका ७ वटा वडा मिलेर बनेको छ ।

स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम अनुसार बुद्धभूमि नगरपालिकाको नगर प्रमुख, उपप्रमुख कांग्रेसले जित्दा वडा नं. १, वडा नं. २, वडा नं. ६, वडा नं. ८ र वडा नं. ९ गरी पाँच वडामा कांग्रेस विजयी भएको छ । एमालेले वडा नं. ३, वडा नं. ४, वडा नं. ५ र वडा नं. ७ मा जित हात पारेको छ । वडा नं. १० मात्र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले जितेको छ ।

बुद्धभूमिको स्थानीय तहको निर्वाचनमा वडागत मतका आधारमा बाम-लोकतान्त्रिक गठबन्धन अर्थात सत्ता गठबन्धन अगाडि रहेको छ । सत्ता गठबन्धनले वडागत रुपमा १५ हजार २८३ मत पाएको छ, भने एमालेले १२ हजार ९१० मत पाएको छ । जहाँ जसपाको एकहजार २२८, राप्रपाको एकहजार १५ मत छ ।

यस्तै, यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । ८ वडा मध्ये वडा नं. १, वडा नं. २ र वडा नं. ८ एमाले उम्मेदवारले जितेका छन् । वडा नंं. ३ र वडा नं. ७ कांग्रेसले जितेको छ । वडा नं. ६ जनमत पार्टीले जित्दा वडा नं. ४ जसपाले जितेको छ भने वडा नं. ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
यशोधराको स्थानीय तहको निर्वाचनको प्राप्त मतका आधारमा सत्ता गठबन्धन नै अगाडि देखिन्छ । गठबन्धनले वडागत रुपमा पाएको मत अनुसार ५ हजार ४२६ मत छ । एमालेको ३ हजार ८५० मत रहेको देखिन्छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ भित्रै जिल्ला सदरमुकाम समेत रहेको कपिलवस्तु नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जसपाले जितेको छ । १२ वडा मध्ये वडा नं. ७, वडा नं. ८, वडा नं. ९, वडा नं. १० र वडा नं. ११ प्रतिनिधिसभा १ मा पर्दछन् ।

दुईमा पर्ने वडाहरु मध्ये काँगे्रस र एमालेले तीन/तीन वटा वडामा जीत हासिल गरेको छ । एमालेले वडा नं. २, वडा नं. ४, वडा नं. ६ मा जित हात पारेको छ । कांग्रेसले वडा नं. ३, वडा नं. ५ र वडा नं. १२ जितेको छ । जसपाले वडा नं. १ मात्र जितेको छ ।
वडागत रुपमा क्षेत्र नम्बर २ मा पर्ने कपिलबस्तु नगरपालिकामा ७ हजार ३२४ मत सत्ता गठबन्धन (काँगे्रस, माओवादी केन्द्र र नेकपा एस)को छ । एमालेको ५ हजार ९३७ मत रहेको छ । कपिलबस्तु नगरपालिकामा पनि सत्ता गठबन्धन फराकिलो मतका साथ अगाडि देखिन्छ ।
यस्तै महाराजगन्ज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख कांग्रेसले जितेको छ । ११ वडा रहेको यो नगरका वडा नं. १, वडा नं. २, वडा नं. ३, वडा नं. ४, वडा नं. ८, वडा नं. ९, वडा नं. १० र वडा नं. ११ यो निर्वाचन क्षेत्रमा पर्दछन् ।
जसमध्ये वडा नं. १, वडा नं. २, वडा नं. ३, वडा नं. ८, वडा नं. १० र वडा नं. ११ कांग्रेसले जितेको छ । वडा नं. ४ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जित्दा वडा नं. ९ मात्र एमालेले जितेको छ ।
महाराजगंज नगरपालिका अन्र्तगतका क्षेत्र नं. २ मा स्थानीय तहको निर्वाचनमा प्राप्त मतको वडागत रुपमा सत्ता गठबन्धनले ८ हजार ५५ मत प्राप्त गर्दा एमालेले मात्र ४ हजार ६०१ मत प्राप्त गरेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरु पाएको मतको आधारमा नेपाली कांग्रेस अगाडि देखिन्छ । कांग्रेससहितको सत्ता गठबन्धन सहयात्री माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) को ३८ हजार ४८४, एमालेको ३५ हजार ५०८ मत रहेको छ ।
कांग्रेस उम्मेदवार आचार्यलाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को दरिलो साथ छ भने गुप्तासंग एमाले मात्र रहेको छ । यो निर्वाचन क्षेत्रमा जसपाले उम्मेदवारी दिएको छैन भने लोसपाले पूर्व मन्त्री अकवल अहमद शाह चुनावी मैदानमा उतारेको छ । उनको पार्टीको उपस्थिति कमजोर भएपनि व्यक्तिगत प्रभावका कारण राम्रै मत ल्याउने मतदाता बताउँछन् । स्थानीय तहको निर्वाचनमा लोसपाले महाराजगंज वडा नं. ४ मा मात्रै जीत हासिल गरेको थियो ।

पुराना कम्युनिस्ट नेताको रूपमा परिचय बनाएका अकवल अहमद शाह लोकतान्त्रिक समाजवादी पार्टीबाट कपिलबस्तु-२ प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । शाह कृषि तथा सहकारीमन्त्री समेत भइसकेका व्यक्ति हुन् । नेपाल कम्युनिष्ट पार्टी (मानन्धर समुह) हुँदै, एमाले, राप्रपा, तमलोपा हुँदै हाल लोसपाबाट उम्मेदवार बनेका शाह पनि कडा प्रतिस्पर्धामा रहेका छन् ।
डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कृषि तथा सहकारीमन्त्री बनेर छोटो कार्यकाल (२५ दिन) पुरा गरेका शाह गत निर्वाचनमा समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।
प्रदेश सभा ‘क’ तर्फ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका विक्रम सिंह थापा चुनावी मैदानमा छन् । नेपाल प्रहरीका पूर्व एसएसपी समेत रहेका थापा यो क्षेत्रको नयाँ अनुहार हुन् । एमालेबाट नवराज लामिछाने उम्मेदवार छन् । ०७४ को चुनावमा समेत यो प्रदेश सभा जितेको एमालेले लामिछानेलाई उम्मेदवार बनाएको हो । प्रदेश सभा भित्र दुवै जना नयाँ अनुहार प्रतिस्पर्धामा उत्रिए पछि चुनाव रोचक बन्ने अनुमान छ ।
यस्तै, कपिलबस्तु-२ (ख) मा प्रदेशसभा सदस्यमा एमालेका धर्मबहादुर लाल श्रीवास्तवको उम्मेद्वारी छ । उनी लुम्बिनी प्रदेशमा शंकर पोख्रेलको सरकारमा तेस्रो मन्त्रिपरिषद् बिस्तारमा श्रीवास्तव मन्त्री बनेका थिए । नेकपा बिभाजनपछि माओवादीले समर्थन फिर्ता लिएपछि पुर्नगठित मन्त्रीमण्डलमा उनी शिक्षा तथा सामाजिक बिकास मन्त्री भएका थिए । मधेसवादी दलमा आवद्ध रहेर राजनीति सुरु गरेका श्रीवास्तव ०७४ सालमा बृजेश गुप्तासँगै सुर्य चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए ।
श्रीवास्तवले तत्कालिन बाम गठबन्धनको तर्फबाट १० हजार ४३६ मत प्राप्त गरि बिजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँगे्रसका सुधाकर पाण्डेयले १० हजार ५० मत प्राप्त गरेका थिए । सत्तागठबन्धनले यहाँ नेपाली कांग्रेसका सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ ।
संविधान सभाका दुई चुनाव र प्रदेश सभाको एक चुनाव हारेका पाण्डेय कांग्रेसका पूर्व जिल्ला सभापति समेत हुन् । पाण्डेयलाई नेकपा एमालेका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले कडा टक्कर दिएका छन् । ०७९ को आम निर्वाचनमा पनि श्रीवास्तव र पाण्डेयबीच प्रतिस्पर्धा हुने देखिएको छ । अहिले सत्ता गठबन्धनका कारण पाण्डेयलाई जीत हासिल गर्न सहज देखिन्छ ।
यो निर्वाचन क्षेत्रमा पाण्डेय र श्रीवास्तव बीच मात्र चुनावी प्रतिस्पर्धा हुने छैन् । जसपाका अब्दुल रसिद खाँ पनि बलिया प्रतिस्पर्धी देखिएका छन् । कपिलबस्तु नगरपालिकाको मेयर र उपमेयरमा जसपाबाटै जीत हासिल भएकाले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । जसपाले स्थानीय तह निर्वाचन २०७९ मा कपिलबस्तु नगरपालिका वडा नं. १, बुद्धभूमि नगरपालिका वडा नं.१० र यशोधरा वडा नं. ४ गरि तीनवटा वडामा जीत हासिल गरेको थियो ।
मतका आधारमा गठबन्धन अगाडि
२०७९ को स्थानीय तह निर्वाचनको ३३ वटा वडागत मतपरिणामले लोकतान्त्रिक-बाम गठबन्धन कपिलबस्तु-२ मा अगाडि देखिन्छ । सत्ता साझेदार दलले १६ वटा वडामा जित हासिल गर्दा एमालेले ११ वटा वडामा जीत आफ्नो पक्षमा पारेको छ । जनताको अभिमतमा चारपटक परीक्षण भइसकेका बृजेश कुमार गुप्त र बाम-लोकतान्त्रिक गठबन्धनका सुरेन्द्रराज आचार्य र अकवल अहमद शाह मध्ये कसलाई मतदाताले जिम्मेवारी सुम्पिने हुन् त्यसको परिणाम भने मंसिर ४ पछि नै थाहा हुनेछ ।


प्रकाशित : २०७९ कार्तिक २४, बिहीबार २१:१६