लुदअ, काठमाण्डौ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।
उम्मेदवार लामिछानेले विदेशी देशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
आज मङ्गलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताउनुभयो । उहाँले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताउनुभयो ।
त्यस्तै उहाँले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्ने गरी आयोगबाट निर्णय भएको बताउनुभयो ।
आचारसंहिता लागू गरेपछि आयोगमा अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका एक सय २१ वटा उजुरी परेका छन् । जसमध्ये ११ वटा उजुरी फस्र्योट भइसकेका छन् भने एक सय १० वटा उजुरी फस्र्योट गर्न बाँकी रहेका छन् ।