लोपउन्मुख जातीमा सुचिकरणका लागि पहल गरिदिन नेटुवा जातीको बलदेव प्रति भरोसा

[sharethis-inline-buttons]

लुदस, जितपुर

निर्वाचन आउन मात्र ३ दिन बाँकी रहँदा अहिले उम्मेद्वारहरु मतदातालाई आकर्षित गर्न घरदैलो एवं भेटघाटमै ब्यस्त छन् । मतदातालाई रिझाउन उम्मेद्वारहरु अन्तिम कसरतमा जुटेका छन् । आज रातीदेखि स्थिर समय समेत सुरु हुँदैछ ।

यसैक्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतिनगरमा मत माग्न पुगेका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल (बलदेव)लाई नेटुवाहरुले राज्यको मूलप्रवाहमा कहिले आफुहरु आउने भनि प्रश्न गरेका छन् ।
यस्तै उनीहरुले कहिले भत्ता पाउने भन्दै उम्मेद्वारलाई सोधेका छन् । उनीहरुले आफु सरहकै पत्थरकट्टा जातिका ब्यक्तिहरुले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता पाउँदै आएपनि नेटुवा जाति भने अहिले सम्म भत्ताबाट बंचित हुदै आएको दुःखेसो पोखेका छन् ।

 

राज्यले अल्पसंख्यक जातिका रुपमा सुचीकृत नगरे पछि भत्ताबाट बंचित हुदै आएको उनीहरुको गुनासो छ । बषौंदेखि यही माग राखेर आफुहरुले नेताहरुलाई भोट दिएर जिताउदै आएपनि जितेपछि मुख समेत देखाउन नआएको सञ्जय नेटुवाले गुनासो गरे । ‘हामी दलित जाती भन्दा पनि तल्लो जाती हांै, जातीय संख्यामा पनि निकै कम छौँ तर हाम्रो कुनै सुनुवाई हुदैन’ उनले भने ।

 

३ दशक देखि सरकारसंग माग राख्दै आएपनि अहिले सम्म आफुहरुको कसैले सुनुवाई नगरेको उनीहरुको गुनासो छ । अर्का महेन्द्र नेटुवाले उम्मेद्वारहरु आफुहरुसंग मत माग्न आउदा माग पुरा गर्छौं भन्ने गरेको बताए। उम्मेदवारसंग मात्र होईन, पटक-पटक काठमाण्डौ धाएपनि कसैले चासो नदिएको उनले दुःखेसो पोखे । ‘लोपोन्मुख जातीको सूचीमा राख्न माग गर्न थालेको तीन दशक वित्यो तर राज्यले अझै सुनेको छैन’ उनले भने ।

 

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतिनगरमा १६ घरपरिवार नेटुवाको बसोबास छ । सुकुम्बासी बस्तिमा बसेका उनीहरुको नेपाली नागरिकताको प्रमाणपत्र बाहेक केही छैन् ।

आफुहरुभन्दा माथील्लो जातका रुपमा रहेको पत्थरकट्टाहरुलाई सुचीकृतमा राखेर राज्यले सुबिधा दिएपनि आफुहरु अझैसम्म अल्पसंख्यक जातिका रुपमा पर्न नसकेको गुनासो गरे । थर नटुवा भएको नागरिकता बनाए पनि आफुहरु पथ्थरकट्टा भन्दा तल्लो जाती भएको उनले बताए । ‘हामीभन्दा पथ्थरकट्टा उपल्लो जाती हो उनले भने, ‘हामीले छोएको पानी पनि खादैनन् पथ्थकट्टाहरु ।’

शिक्षा, स्वास्थ्य र रोजगारीबाट समेत बंचीत हुदै आएका उनीहरुको दैनिकी निकै कष्टकर छ । दिनभरी भिक्षा मागेर जिविकोपार्जन गर्ने उनीहरुको दैनिक बनेको छ । पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाहरुले भिक्षा मागेर ज्यान पाल्दै आएका छन् । नटुवा बसोबासका वरपर ठुला ठुला पक्की घर छन्, अगाडी हुलाकी मार्ग छ, नजिकै विद्यालय छ तर उनीहरुको जीवन अन्धकारमा व्यतित छ ।

 

विसं २०६८ को राष्ट्रिय जनगणना अनुसार कपिलवस्तुमा २ सय ९१ को हाराहारीमा नेटुवा जातिको बसोबास रहेको छ । कपिलबस्तुमा २०७८ मा गरीएको घरधुरी सर्वेक्षण अनुसार ८२ घर धुरीमा ५ सय ४ जना रहेका छन् ।

जिल्लाको शुद्धोधन गाउँपालिकाको प्रगतिनगर र असुरैना, मायादेबी गाउपालिकाको अभिराव, मनखोरिया र भैसकुण्डा, यशोधरा गाउपालिकाको बसन्तपुर, महाराजगंजको गैडहवा, कृष्णनगर नगरपालिकाको बहादुरगंज लगायतका स्थानमा नेटुवा जाति बस्ने गर्छन ।

 

घरदैलो तथा नेटुवा जातीको अवस्थाबारे बुझ्न प्रगतिनगर पुगेका बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल (बलदेव)ले आफुले नेटुवाहरुको माग पुरा गराएरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नेटुवा जाति अति पछडिएकाले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रबाट बंचित हुदै आएका भन्दै उनले अब आफुले उनीहरुलाई अल्पसंख्यक जातिका रुपमा सुचीकृत गराउने बताए । २०७४ सालमा जितेर पनि उनीहरुको समस्या समाधान गर्न नसकेको प्रति आफुलाई ग्लानी भएको भन्दै अबको ५ बर्ष भित्र आफुले उनीहरुको माग सम्बोधन गराउने बताए । ‘५ बर्षे कार्यकालमा मैले कषि, सिचाई लगायतका क्षेत्रमा बढी ध्यान दिए, अब सामाजिक क्षेत्रमा पनि बिशेष ध्यान दिनेछु’ उनले भने ।

 

नेटुवाहरुको शिक्षा, स्वास्थ्य, रोजगारका बिषयमा पनि कुरा पनि उठान गरी ठोस पहल गर्ने उनले बताए । लोपोन्मुख अल्पसंख्यक समुदायमा पर्ने नेटुवा जातिलाई सामाजिक सुरक्षा भत्तादेखि राज्यको प्रवाहीकरणमा उपस्थितीका लागी उक्त समुदायको दस्तावेजीकरण गर्ने तथा लोपोन्मुख जातीको सुचिमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइसकिएको समेत उनको दाबी छ ।


प्रकाशित : २०७९ मंसिर १, बिहीबार १६:५१