प्रदीप पौडेलको फड्को

[sharethis-inline-buttons]

लुदअ ७ मंसिर, काठमाडौं
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुँदा प्रदीप पौडेल पराजित भएका थिए । विद्यार्थी राजनीतिबाट आएका गगन र विश्वप्रकाश पार्टीको पदाधिकारीमा पुग्दा पौडेल मनोनित केन्द्रीय सदस्यमा सीमित भए ।

प्रतिनिधिसभामा भने उनीहरु एकसाथ हुने भएका छन् । महामन्त्री विश्वप्रकाश झापा(१ मा झण्डै १० हजारको अग्रता लिइरहँदा अर्का महामन्त्री थापा काठमाडौं ४ बाट निर्वाचित भएका छन् । प्रदीप काठमाडौं ५ बाट सांसद चुनिएका छन् ।

मंगलबार राति सकिएको मत गणनामा पौडेलले नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरे । प्रदीपले १५ हजार २३७ मत पाउँदा निवर्तमान सांसद समेत रहेका पोखरेलले १० हजार १७५ मत मात्र पाए । पोखरेल, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा हार व्यहोर्ने एमालेका पहिलो पदाधिकारी हुन् । पोखरेल एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियताका नेता हुन् ।

एमालेका हेभिवेट नेतालाई पराजित गर्दै कांग्रेस नेता पौडेलले आफ्नो उचाई बढाएका छन् । दुई पटक यही क्षेत्रबाट सांसद भएका पोखरेल कोरोनाकालमा निकै विवादमा आएका थिए भने कांग्रेसका पौडेल परीक्षण नभएका नेता हुन् ।

 


प्रकाशित : २०७९ मंसिर ७, बुधबार ०८:०४