
मंसिर २५ ।
रुपन्देहीको देवदह नगरपालिका ६ सरनवारीमा बार्षिक रुपमा करोडौ रुपैयाको अर्गानीक लौरे सिमी उत्पादन हुने गरेको छ । सरनवारीमा करिव ४० हेक्टर जमिनमा बार्षिक रुपमा करोडौको अर्गानीक लौरे सिमी उत्पादन हुने गरेको छ । सरनवारीका कृषकहरुले धानखेती पछि लौरे सिमी उत्पादन गरी करोडौ रुपैया आम्दानी गर्न सफल भएको छ ।
सरनवारीका करिव ८० घरपरिवार कृषकहरुले उत्पादन गरेका लौरे सिमी बुटवल, भैरहवा, खैरेनी, सुनवल, बर्दघाट क्षेत्रमा जाने गरेको सरनकालिका कृषक समुहका अध्यक्ष मानबहादुर गाहाले जानकारी दिनु भयो । गाहाका अनुसार अहिले अर्गानीक लौरे सिमी प्रतिधार्नी एक सय पचास देखि दुई सय रुपैया सम्म विक्रि वितरण भईरहेको जानकारी दिनुभयो । कृषकहरुले उत्पादन गरेको अर्गानीक लौरे सिमी लिन व्यवसायीहरु घर÷घरमै पुग्ने गरेको अध्यक्ष गाहाले बताउनुभयो । स्थानीय तह र कृषकहरुको लगानीमा सिचाईको व्यवस्था भएपछि कृषकहरु अर्गानीक लौरे सिमी उत्पादनमा लाग्ने गरेको उहाले बताउनु भयो ।
धानखेती पछि सरनवारीका सम्पूर्ण कृषकहरु अर्गानीक लौरे सिमी उत्पादन गर्दै आईरहेको स्थानीय कृषकहरुको भनाई रहेको छ । सरनवारीका
कृषकहरुले बर्षायाम सकिएपछि अर्गानीक लौरे सिमी उत्पादन गरेपनि मूल्यमा भने एकरुपता आउन नसकेको अध्यक्ष गाहाले बताउनु भयो । केही बर्ष अघि सरनकालिका कृषकहरु समुहद्धारा बिक्रि वितरण गर्ने प्रयास गरेपनि केही कृषकहरुका कारण सफल हुन नसकेको गाहाको भनाई रहेको छ ।
अर्गानीक लौरे सिमी उत्पादनबाट बार्षिक रुपमा करिब डेढ करोड देखि दुई करोड सम्म कारोवार हुने गरेको कृषक भुलबहादुर आलेले जानकारी दिनु भयो । कृषकहरुले उत्पादन गरेपनि मूल्य भने व्यवसायीहरुले मूल्य तोक्ने गर्दा कृषकहरु मर्कामा पर्ने गरेको उहाँको भनाई रहेको छ । सरनवारी क्षेत्रमा उत्पादन हुने अर्गानीक लौरे सिमीको स्थानीय तहले लागतको आधारमा मूल्य निर्धारण गरे राम्रो हुने आलेको भनाई रहेको छ ।
सरनवारीका कृषकहरुले अर्गानीक लौरे सिमी संगै पिडालु, तरुल, गोपी, टमाटर, साग लगायत उत्पादन गर्दै आईरहेका छन् । विगतका बर्षमा जस्तो यस बर्ष उत्पादन नभएको कृषकहरुको भनाई रहेको छ । सरनवारीका कृषकहरु अहिले लौरे सिमी टिप्ने र विक्रि गर्नमा व्यस्त रहेका छन् ।

