फोहोर व्यबस्थापनमा कमजोर बाणगंगा, जलाउँदा नागरिकलाई सकस

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकामा अव्यवस्थित तरिकाले फोहोर व्यवस्थापन र त्यसको नष्ट गर्ने परिपाटी प्रति नागरिकस्तरबाट चर्काे आलोचना भएको छ । बाणगंगा नगरपालिकाले पुर्व पश्चिम राजमार्गको बाणगंगा पुल नजिकै फोहोर फ्याकिदा समेत त्यसको उचित व्यवस्थापन गर्न सकेको छैन । राजमार्ग किनारमै फ्याकिने फोहोरका कारण पुर्व र पश्चिममा करिब ५० मिटरको दुरीमा रहेका घना बस्तीमा फोहोर जलाउँदा निस्किएको धुँवाले स्वासप्रश्वासमा समेत गम्भिर असर पर्ने गरेको छ । बाणगंगाका विभिन्न व्यवसायिक तथा औधोगिक क्षेत्रबाट निस्कासन हुने फाहोरको उचित व्यवस्थपनमा नगरपालिका मुकदर्शक बनेको छ ।

खासगरी प्लाष्टिकजन्य पदार्थ र अरु फोहरको ब्यवस्थापन उचित नगर्ने तर फोहोरलाई बस्ति नजिकै आगो लगाएर जलाउने काममा नगरपालिका सक्रिय देखिएको भन्दै नागरिकहरुले सार्वजनिक रुपमा आलोचना गर्ने गरेका हुन । वातावरण प्रदुषण नगर्न जनतालाई सचेत र जागरुक बनाउनुको सट्टा नगरपालिका नै फोहर र प्लाष्टिकजन्य पदार्थ ब्यवस्थापन गर्नको लागि जलाउने बाटो लिन लागेको हो कि भन्दै आलोचना गर्न लागेको भन्दै सामाजिक सञ्जालहरुमा समेत अभिव्यक्ति सार्वजनिक भइरहेका छन् ।

नगरपालिकाको वडा नम्बर १ र ७ जोड्ने वाणगंगा पुल वरिपरिको वायुमण्डल धमिलो र धुम्म देखियो । त्यस यता दैनिक जस्तै यस्तै दृश्य देखिने गरेको छ । वाणगंगाको फोहर डम्पिङ भएको क्षेत्रमा आगो लगाएपछि निस्किएको धुवाँको मुस्लोले वातावरण एक्कासी धमिलो भएको हो । सामाजिक संजालमा लेख्नेहरुले फोहरको व्यवस्थापन गर्न नसक्ने स्थानीय सरकारका जनप्रतिनिधिले तुरुन्त राजिनामा दिनुपर्ने बताएका छन् । यता नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले भने यो विषयमा आफू अनविज्ञ भएको बताए । प्रवक्ता पौडेलले नगरको बदनाम गर्न कसैले त्यस्तो हर्कत गरेको हुन सक्ने बताउँदै उसलाई भेटेमा कारबाही गर्ने बताए । बितेका ५ वर्ष देखि बाणगंगा नगरपालिकाले मुख्य योजनाको रुपमा राख्दै आएको फोहोरको स्थायी डम्पिङ साइड निर्माण योजनामै सिमित बन्ने गरेको छ ।

पहिलो कार्यकालमा फोहर ब्यवस्थापन गर्न असफल पालिकाले वैशाख ३० गते नयाँ जनप्रतिनिधि पाए पनि यसबारे ठोस निर्णय गर्न सकेको छैन । उचित जग्गा छनौटमा चुकेको नगरपालिका हरेक वर्ष योजना भने बनाइरहेको छ । हाल बाणगंगा नगरपालिकाले पाँच वर्षका लागि नगरभित्रको फोहोर संकलनका लागि ठेक्का मार्फत रुपन्देहीको एक कम्पनीलाई जिम्मा दिएको छ । उक्त कम्पनीले दैनिक बाणगंगाका बस्तीबाट फोहोर संकलन गरी रुपन्देहीमा प्रशोधन गर्ने गरेको छ । तर यहाँ भने निषेध गरेकै क्षेत्रमा फोहोर फ्याक्न भने छोडिएको छैन ।

विश्वमा २४ प्रतिशत हृदयरोगबाट हुने मृत्यु र २५ प्रतिशत हृदयघातबाट हुने मृत्युको कारण वायू प्रदुषण हो र प्रदुषणकै कारण हरेक मिनेटमा विश्वका १३ व्यक्तिको मृत्यु हुने गर्दछ । त्यसरी निस्कने फोहरमध्ये प्लाष्टिकजन्य पदार्थको व्यवस्थापनको नाममा गरिने जलाउने कार्य सबैभन्दा घातक मानिन्छ । यसको सही प्रयोग र व्यवस्थापन हुन नसक्दा धेरै हृदयरोग निम्तन सक्ने विज्ञहरु बताउँछन् । फोहर र विशेषगरी प्लाष्टिकजन्य पदार्थ जलाउँदा प्यूरान र बेन्जिन जस्ता हानीकारक ग्यास निस्कन्छ र यसले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपले असर पुर्याउँछ ।

यस्तो गतिविधिले गृहिणी तथा गर्भवती महिला र भान्सामा खटिरहने प्लाष्टिक जल, जमिन, जीवजन्तुदेखि मानव स्वास्थ्यलाई असर पुर्याउने एक प्रमूख कारक बनेको छ । प्लाष्टिक जलाउँदा कार्बनमोनोअक्साईड, डाइओक्सिन, व्यक्तिको श्वासप्रश्वासमा प्रत्यक्ष असर पारिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । त्यसकारण प्लाष्टिकजन्य फोहर जलाउनु आफैमा गैर कानुनीे काम हो ।


प्रकाशित : २०७९ मंसिर २७, मंगलवार १०:२०